रौतहट  / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपालराय यादवसहित २२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

फतुवा विजयपुर नगरपालिका र गजुरा नगरपालिकाबीच लाल बकैया नदीबाट नदीजन्य बस्तुको बिक्रीबाट प्राप्त राजस्व बाँडफाँडमा सहमति भए पनि फतुवा विजयपुर नगरपालिकाले एकलौटी रुपमा ठेक्का रद्द गरेर राज्यलाई एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ नोक्सानी पुर्‍याएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । 

OM Sai Pathibhara Hospital

अख्तियारले साविक तथा हालका समेत नगरप्रमुख यादवसहित साविककी उपप्रमुख कान्तीदेवी, वडा नम्बर १ का तत्कालीन वडाध्यक्ष संजय प्रसाद, वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष भविछन राय, ३ का वडाध्यक्ष दीपनारायण साह, ५ का तत्कालीन वडाध्यक्ष हिराराय यादव र हालका वडाध्यक्ष सेख एजाद अहमद विरुद्ध मुद्दा दर्ता गरिएको छ ।

त्यसै गरी वडा नम्बर ८ का तत्कालीन वडाध्यक्ष र हालका नगर कार्यपालिका सदस्य उमाशंकर साह कलवार, वडा नम्बर ९ का तत्कालीन वडाध्यक्ष दीपनारायण चौधरीविरुद्ध पनि मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

वडा नम्बर १० का तत्कालीन वडाध्यक्ष योगेन्द्रप्रसाद चौधरी, तत्कालीन नगर कार्यपालिकाका सदस्य लक्ष्मण साह कानु, सुन्दरी माझी, हाल वडा नम्बर ७ का सदस्य जिरनी देवी, तत्कालीन सदस्य फूलकुमारी देवी, सञ्जु देवी जयसवाल, शशी कुमार साह, रविन्द्रकुमार निधिविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ । 

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार २०७५ पुस १५ गते लाल बकैया नदीको ठेक्का सम्बन्धमा भएको अनियमितताविरुद्ध मुद्दा दर्ता गरिएको हो ।