काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन् । 

पार्टी केन्द्रीय कार्यालय मीनभवनमा पुगेर मन्त्री आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन ।

OM Sai Pathibhara Hospital

शुक्रबारको पोलिटब्युरो बैठकमा पनि मन्त्री आलेले ४८ घण्टाभित्र मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए । सोही अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आले निकट स्रोतले बतायो ।

आलेले आफ्नो कार्यकालमा भएका कामको बारेमा प्रकाश पार्न आजै पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले आज ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । 

एकीकृत समाजवादीले गत २२ जेठमा सरकारमा सहभागी मन्त्री आलेसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरूको नाम सिफारिस गरेको थियो ।

समाजवादीले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय गरेको थियो । 

तर, सरकारमा सहभागि भएका मन्त्रीहरूले पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका थिए । चार मन्त्रीसहित ६ जना सांसदहरुले समेत मन्त्रिपरिषद् हेरफेर प्रति असन्तुष्टि जनाउँदै अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका थिए । तर पछि हस्ताक्षर गर्नेहरूमध्ये पर्यटनमन्त्री आलेसहित ६ जना सांसदले नाम फिर्ता लिएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज र भोलि भित्रै मन्त्रिपरिषद् पूनर्गठनको तयारी गरेका छन् । मन्त्रीहरू हेरफेरबारे पार्टीले लिएको निर्णय कार्यान्वयनको लागि यसअघि माधव नेपालले प्रधानमन्त्री देउवालाई ताकेता गरिरहेका थिए ।