काठमाडौँ / पूर्व सञ्चारकर्मी राजनीतिमा होमिएका रवि लामिछानेले नयाँ पार्टीको नाम घोषणा गरेका छन् । मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा  आयोजित  घोषणा सभामा लामिछानेले दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन्  ।  लामिछानेले पार्टीको भ्रातृ संगठन नबनाउने पनि घोषणा गरे । पार्टीमा कोही पनि कार्यकर्ता नहुने  र सबै सदस्य मात्र हुने उनले बताए । सदस्यले मत हाल्ने बाहेक पार्टीका लागि कुनै काम गर्नु नपर्ने उनले बताए । पार्टी घोषणा गर्नुअघि उनले आफू व्यवस्था परिवर्तन गर्न नभई जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताएका छन् । 

तर पार्टी घोषणा गरेपछि उनले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित र मुख्यमन्त्रीको एजेन्डा अघि बढाउने बताए। नेपालमा अहिले संसदीय प्रणाली छ । संघीय सरकारमा प्रतिनिधि सभाबाट प्रधानमन्त्री र प्रदेश सभाबाट मुख्यमन्त्री छानिने संवैधानिक व्यवस्था छ । लामिछानेले आफ्नो पार्टीलाई युवाको पार्टी बनाउने बताएका छन् । 
‘म यो पार्टीलाई युवाहरूको पार्टी बनाउने छु,’ उनले भने,‘केन्द्रीय सदस्य ५० प्रतिशत युवा हुनेछन् ।’