बिर्तामोड / नगरपालिकामा बुधबारे हटियाको सन्दर्भमा बसेको सर्वदलीय बैठकमा विवाद भएपछि नगर तनावग्रस्त बनेको छ । 

नगरको सर्वदलीय बैठकमा बुधबारे हटियाका व्यापारीलाई विद्युत महसुलको मिटर दिनुपर्ने माग राख्दै उद्योग वाणिज्य सङ्घमा आबद्ध केही व्यापारीहरू आन्दोलनमा उत्रिएपछि नगर तनावग्रस्त बनेको हो । 

OM Sai Pathibhara Hospital

बैठकमा नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई र नगरपालिकाकी नवनिर्वाचित मेयर पवित्रा महतरा प्रसाईँमाथि उद्याेग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले हातपातको प्रयास गरेको एमालेको आरोप छ । 

बुधबारे हटियाका व्यापारीलाई विद्युत महसुलको मिटर दिनुपर्ने माग राख्दै उद्योग वाणिज्य सङ्घमा आबद्ध केही व्यक्तिहरू आन्दोलनमा उत्रिएका थिए । उनीहरूको माग सम्बोधन गर्न नगरपालिकाले बोलाएको सर्वदलीय बैठकमा न्यौपानेले आफूहरूमाथि हातपातको प्रयास गरेको मेयर प्रसाईँको आरोप छ । 

नगर प्रमुख प्रसाईँले नगरपालिकाको नाममा रहेको बुधबारे हटियाको जग्गामा अनधिकृत रुपमा घर तथा छाप्रो बनाएर बसोबास गर्दै आएका व्यापारीहरूलाई विद्युत महसुलको मिटर दिन माग गर्दै आन्दोलित केही व्यक्तिहरूले केही दिनयता देखि आफूलाई घर घेर्ने र हातपात गर्ने समेत धम्की दिँदै आएको बताएकी छिन् । 

यता उद्योग वाणिज्य उपाध्यक्ष न्यौपानेले भने बैठकमा नगरप्रमुख प्रसाईँ र एमालेका नगर अध्यक्ष भट्टराईलाई हातपात नगरको र उल्टै भट्टराईले आफूमाथि दुर्व्यवहार गरेको बताएका छन् । 

हटियाका व्यापारीहरूलाई मिटर उपलब्ध गराउन भन्दै नगर प्रमुख प्रसाईँलाई सिफारिस गर्दा आफूहरूको माग सम्बोधन नभएको न्यौपानेको आरोप छ । 

बिर्तामोडका व्यापारीहरू मिलेर भोलि (मंगलबार) बिर्तामोड बजार बन्दा गर्ने न्यौपानेले बताएका छन् ।