बिर्तामोड / नेपाली नागरिकलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाइए पनि बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँले सार्वजनिक रूपमै संयुक्त अरब इमिरेट्स (दुबई)मा मेडिकल कलेज खोल्ने घोषणा गरेका छन् । 

झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन् ।

OM Sai Pathibhara Hospital

दुबईबाट आएका ‘राजकुमार’ भनिएका जुमा अल मोक्तुम र आफूबीच दुबईमा बीएण्डसी टिचिङ दुबईको नाममा मेडिकल कलेज सञ्चालन गर्ने सम्झौता भएको प्रसाईँले बताएका छन् । 

उनले भने, ‘बीएण्डसी दुबई भनेर म त्यहाँ दुबई मेडिकल कलेज खोल्छु । हामीले विएण्डसी दुबई भनेर एक अर्कामा मेडिकल कलेज खोल्ने समझदारी साटासाट गरेका छौं।’

तर,  ‘नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१’ अनुसार, नेपालीले विदेशमा लगानी गर्न रोक लगाइएको छ । 

स्व. राजा महेन्द्र वीर विक्रम शाहदेवले सर्वसाधारण जनताको आर्थिक हित कायम राख्न विदेशमा लगानी गर्नमा प्रतिबन्ध लगाउने व्यवस्था गर्नु वाञ्छनीय भएको भन्दै उक्त ऐन बनाएका थिए । 

यदि कसैले यो ऐनको वा यस ऐन अन्तर्गत जारी गरिएको सूचना, आदेश वा निर्देशनको उल्लङ्घन गरी कुनै काम कुरा गरेमा सो व्यक्तिलाई बिगो बमोजिम जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने  ऐनमा उल्लेख छ । 

यो ऐन नेपाल भित्र वा बाहिर बस्ने सबै नेपाली नागरिक र नेपाल भित्र स्थापित भएको सङ्गठित संस्थाहरूलाई लागू हुने छ । 

यस्तै प्रसाईँले मेडिकल कलेजसँगै नेपालबाट यूएईमा खानेपानी र जडिबुटीको निर्यातका लागि समेत सम्झौता गरेका छन् । रसुवामा उत्पादन हुने पानी सीधै यूएईमा लैजाने गरी मोक्तुमप्रसाईंबीच सम्झौता भएको हो। यससँगै हिमाली क्षेत्रमा रहेको जडिबुटीलाई प्रशोधन गरी यूएईमै निर्यात गर्ने गरी पनि सम्झौता भएको छ । 

‘मैले लामो समयदेखि पानी र जडिबुटी निर्यातको तयारी गरेको थिएँ, त्यसले सार्थकता पाउँदैछ’, प्रसाईँले भने, ‘मेरो प्रस्तावलाई मोक्तुमज्यूले स्वीकार गरी नेपाल आउनुभएको छ ।‘ 

हिमालको काखमा उत्पादन भएको हिमालयको पानी यूएईमा लगेर बिक्री गर्दा विदेशी डलरसँगै रोजगारीसमेत बढ्ने उनको दाबी छ ।