काठमाडौँ /  प्रतिनिधिसभा सदस्यको आचार संहिता विपरित गतिविधि गरेको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध संसद् सचिवालयमा उजुरी परेको छ ।

अधिवक्ताहरू किशोर पौडेल र अनुपम भट्टराईसहित तीन जनाले संसद् सचिवालयस्थित आचरण अनुगमन समितिको कार्यालयमा पुगी आलेविरुद्ध उजुरी दर्ता गराएका हुन्। 

OM Sai Pathibhara Hospital

मन्त्री आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेको र अश्लिल भाषामा गालीगलौज गरेको अडियो सार्वजनिक भएको थियो । यसअघि पनि उनले मुम्बईमा रहेका एक जना नेपालीलाई गालीगलौज गरेको अडियो बाहिरिएको थियो । 

अधिवक्ताहरूले उजुरीमा मन्त्री आलेको अडियोको ल्याब परिक्षण गरी आवश्यक अनुसन्धानबाट कारबाहीका लागि सिफारिस गर्न अनुरोध गरेका छन् । 

उजुरीमा भनिएको छ, ‘डोटीका माननीय सांसद प्रेम आलेले विभिन्न व्यक्तिसँग टेलिफोन तथा प्रत्यक्ष भेटघाटका विषयमा अश्लिल शब्द प्रयोग गरेको अडियो बाहिर आएका छन् । सांस्कृतिक मूल्य मान्यताको जगेर्ना गर्दै संस्कारयुक्त समाज निर्माण गर्ने जिम्मा पाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका आलेज्यूले टेलिफोन वार्ताहरूमा अश्लिल शब्द मात्रै प्रयोग गर्नु भएन ठेगान लगाउने सम्मको धम्की दिनुभयो ।’

उनले विभिन्न सार्वजनिक स्थानमा राजनीतिक दलका नेता तथा निजामती कर्मचारीहरूलाई अश्लिल तथा अपशब्द प्रयोग गर्ने गरेको समेत उजूरीमा उल्लेख छ ।