काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । 

आजको प्रतिनिधि सभा बैठकको सुरुमा नै एमालेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मा माथि गम्भीर प्रश्न उठेको भन्दै उनको राजीनामा माग गरेका हुन् ।

OM Sai Pathibhara Hospital

सांसद पाण्डेले अर्थमन्त्री शर्मालाई बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिसँगको साँठगाँठमा करको दर हेरफेर गरेको आरोप लागेकाले नैतिक रुपमा पदमा बस्न नमिल्ने बताए । उनले गोपनीयताको विषयलाई बाहिर सार्वजनिक गर्नु गम्भीर अपराध भएको भन्दै अर्थमन्त्री शर्मा माथि छानबिन हुनुपर्ने बताए ।

सांसद पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षणसमेत गराएका छन् ।

यस्तै, एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधि सभामा अर्थमन्त्रालयको विनियोजित बजेटको विषयमा अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यसूची हटाउन माग गरेका छन् । भट्टराईले अर्थमन्त्री शर्माले  दिने जवाफमा एमाले भाग नलिने भन्दै कार्यसूचीबाट हटाउन माग गरेका हुन् ।

बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करको दर हेरफेर गर्न अमुक मान्छे पठाएको प्रति गम्भीर प्रश्न उठेकाले एमाले अर्थमन्त्रीको जवाफ सुन्न र छलफल गर्न तयार नभएको उनको भनाइ छ ।