काठमाडाैँ / लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री (वली)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका –५ बसपार्कस्थित एकराज बस्नेतको घरभित्र पसेर उनकी श्रीमतीलाई कुटपिट गरेपछि मन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

OM Sai Pathibhara Hospital

एकराजकी पत्नी मीना भण्डारीका अनुसार विमलाले उनको घरमा आएर एकराजलाई आफ्नो श्रीमान दाबी गरेकी थिइन् । आफू र आफ्नी ६ वर्षकी छोरीलाई उनले हातपात गरेको मीनाको भनाइ छ । 

घटनापछि मीनाले आफ्नो जेठाजुलाई खबर गरेकी थिइन् । जेठाजुले बिहान करिब ८ बजे तिर प्रहरी बोलाएका थिए । 

एकराजको कोठाबाट विमलालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वारले बताए । घटना हुँदा एकराज घरमा थिएनन् ।

एकराज र मीनाका एक छोरा र एक छोरी छन् । विमलाका पनि दुई छोरा छन् । विमलाका श्रीमानको केही समयअघि दुर्घटनामा निधन भएको थियो ।

गत वर्ष भदौमा विमलाले आफ्नो फेसबुक स्टोरीमा एकराजलाई चुम्बन गरेको फोटो हालेकी थिइन् । उक्त फोटोले समाजिक सञ्जाल तातेपछि उनले तस्वीर एडिट गरिएको र एकराज आफ्नो भाइ पर्ने दावी गरेकी थिइन् ।