काठमाडाैँ / नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले प्रधानमन्त्री र प्रधानसेनापतिको आसन्न अमेरिका भ्रमण स्थगित गर्न माग गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै नेता गुरुङले नेपालको राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै भ्रमण रोक्न सुझाव दिएका हुन् ।

OM Sai Pathibhara Hospital

पछिल्लो समय अमेरिकी अधिकारीहरू नेपाल आउने क्रम बढेको र उनीहरूका गतिविधिले नेपाललाई अमेरिकी सैन्य गठबन्धनमा सामेल गराउने आशंका बढ्दै गएको उनको भनाइ छ ।

मुलुक अमेरिकी सैन्य गठबन्धनमा सामेल भए नेपालले युक्रेनको अवस्था भोग्नुपर्ने बताउँदै उनले भने, ‘प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमण स्थगित गर्दा मुलुकलाई फाइदा हुन्छ । अमेरिकाले नेपाललाई आफ्नो सैन्य रणनीतिअनुसार स्टेट पार्टनरसिपमा सामेल गराउन खोजेकाले यसलाई रोक्न नेपाली पक्ष सतर्क र सजग हुनुपर्छ ।’

गुरुङले सिरिया र लेबनानमा रहेका शान्ति सेनाबारे बुझ्न जाने क्रममा प्रधानसेनापतिले अमेरिकाको भ्रमण पनि गर्ने कुरा सुनिएको उल्लेख गर्दै भने , ‘भ्रमणको एजेण्डा देखिँदैन, रक्षामन्त्रीको हैसियतले सम्माननीय प्रधानमन्त्रीको पनि अमेरिका भ्रमणको कुरा छ । पहिलो कुरा यो स्थितिमा ती भ्रमण नै आवश्यक छैन ।’