काठमाडौँ / सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीको आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरु फेर्ने निर्णय अलपत्र परेको छ । 

छोटो समयका लागि मन्त्री हेरफेर गर्न नहुने प्रधानमन्त्री शेरबहादुर देउवाको अडानपछि तत्काल समाजवादीको निर्णय अलपत्र परेको हो। 

समाजवादीको आइतबार बसेको सचिवालय बैठकले आफ्ना चार जना मन्त्रीलाई फिर्ता बोलाएर उक्त स्थानमा अन्य चार जनालाई पठाउने निर्णय गरेको थियो । सो निर्णयसँगै पार्टी अध्यक्ष माधवकुमार नेपालले नयाँ मन्त्रीमा सिफारिस भएका चार जनाको नाम प्रधानमन्त्री देउवालाई बुझाएका थिए ।  

समाजवादीले उक्त निर्णय गरेसँगै पार्टी भित्र विवाद भएको थियो । बजेटको विषयमा संसद्‍मा छलफल चल्दै गर्दा सम्बन्धित मन्त्रीलाई परिवर्तन गर्नु उचित नहुने भन्दै नेकपा एसका मन्त्रीहरूले प्रधानमन्त्री देउवासँग आग्रह गरेका थिए । 

यस्तै उनीहरूले आइतबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेटेर आफ्ना अध्यक्ष नेपाललाई सम्झाइदिन दबाब दिएका थिए ।

समाजवादीका मन्त्री हेरफेरलाई लिएर आन्तरिक विवाद भएपछि प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच सोमबार बिहान बालुवाटारमा छलफल भएको थियो।

छलफलमा अहिले मन्त्री फेर्दा अन्य दलमा पनि फेरबदलको दबाब बढ्ने र त्यसले सत्ता गठबन्धनको निरन्तरतामै समस्या उत्पन्न हुनसक्ने जोखिमबारे समीक्षा भएको थियो । 

त्यसको असर बजेट पारित गर्ने कार्यमै पर्न सक्ने देखिएपछि तत्कालका लागि मन्त्रिपरिषद् पुनर्गठन नगर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका हुन् ।

प्रधानमन्त्री कार्यालय स्रोतले भने देउवाका कारणले नभइ एकीकृत समाजवादीकै आन्तरिक कारणले अहिलेसम्म नयाँ मन्त्रीको नाम औपचारिक रुपमा प्राप्त नभएको बताएको छ।

समाजवादीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसीलाई सिफारिस गरेको थियो।

हाल समाजवादीबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा प्रेम बहादुर आले, शहरी विकासमन्त्रीमा रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा कृष्णकुमार श्रेष्ठ छन् ।