काठमाडौँ / नेकपा एकीकृत समाजवादीबाट सिफारिस भएकाहरूले आजै पद तथा गोपनियताको शपथ लिने भएका छन् । उनीहरूलाई आनै शपथ ग्रहण गराउने तयारी भइरहेको छ ।
शीतल निवासमा आयोजना हुने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई शपथ ग्रहण गराउने छिन् । शपथ ग्रहण दिउँसो हुने भनिए पनि समय निश्चित भइसकेको छैन ।
पार्टीमा भागबन्डा मिलाउनको लागि एकीकृत समाजवादीले हिजो (आइतबार) मन्त्रिपरिषद्मा आफ्नो भागमा रहेका पाँच जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरूको नाम सिफारिस गरेको थियो ।
एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ र भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री छन् ।
समाजवादीले अब राज्यमन्त्री खापुङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएर जीवनराम श्रेष्ठलाई पर्यटन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम रोजगार र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।






































