काठमाडौं / सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत् सौन्दर्य प्रसाधन वस्तुको आयातमा १० प्रतिशत अन्तशुल्क बढाएको छ ।

सरकारले आयातलाई कडाइ गर्दै सौन्दर्य प्रसाधन वस्तुको आयातमा ५ प्रतिशत रहेको अन्तशुल्कलाई बढाएर १५ प्रतिशत पुर्याएको हो ।

OM Sai Pathibhara Hospital

सरकारले आगामी आर्थिक वर्षको विद्येयकमा लिपस्टिक, आइ मेकअपका वस्तु, नङपालिस, पाउडर, अनुहारमा लगाउने क्रिम, शरीरमा लगाउने लोसन, छालाको सुरक्षाका लागि प्रयोग गरिने खुद्रा बिक्री प्याकमा रहेको पेट्रोलियम जेलीस्याम्पुमा १० प्रतिशत अन्तशुल्क बढाएको हो । 

त्यसैगरी, सरकारले कपालमा लगाउने तेल, रङ, क्रिम, कन्डिसनर जस्ता वस्तुको आयातमा ५ प्रतिशत अन्तशुल्क बढाएर १० प्रतिशत बनाएको छ । 

सरकारले उच्च आयातका कारण विदेशी सञ्चिति घट्दै गएको र तरलता अभाव भएको भन्दै कस्मेटिक्स वस्तुको आयातमा शतप्रतिशत मार्जिनको व्यवस्था गर्दै प्रतिपत्र (एलसी) खोल्नुपर्ने व्यवस्था गरेको छ । 

अहिले बजारमा एलसीका कारण पर्याप्त मात्रामा कस्मेटिक्स वस्तु आउन नसकेको र मूल्य महँगिएका कस्मेटिक्स व्यवसायीहरूले बताएका छन् ।

नेपालले चालु आर्थिक वर्षको १० महिनामा मात्रै ७ अर्ब ४५ करोड ५९ लाख ७६ हजार रुपैयाँ बराबरको कस्मेटिक्स वस्तु आयात भएको छ । उक्त आयातित वस्तुबाट नेपाल सरकारले २ अर्ब ९५ करोड १८ लाख ८६ हजार रुपैयाँ भन्सार महशुल संकलन गरेको छ ।

नेपालले १० महिना मात्रै २९ करोड २१ लाख रुपैयाँको लिपिस्टिक, २० करोड ४६ लाख रुपैयाँको आइ मेकअप, ५९ करोड ५४ लाख रुपैयाँको फेस क्रिम, ४ करोड ८१ लाख रुपैयाँको नेलपोलिस, ४० करोड ५८ लाख रुपैयाँको बडी लोसन, २ अर्ब ५० करोड ३२ रुपैयाँको अन्य सौन्दर्य वस्तु, १ अर्ब ८६ लाख रुपैयाँको स्याम्पु, ४४ करोड ६९ लाखको कपालमा लगाउने रङ, ४४ करोड ६९ लाख रुपैयाँको कपालमा लगाउने तेल, १३ करोड २८ लाखको कन्डिसनर र ५६ करोड ५७ लाख रुपैयाँको कपालमा प्रयोग हुने अन्य वस्तु आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख  गरिएको छ ।

आयातित वस्तु नक्कली र मूल्य पनि निकै महँगी भएकाले आगामी दिनमा सौन्दर्य वस्तु नेपालमै उत्पादन गर्नुपर्ने भएपनि नेपालमा भने आयातित कस्मेटिक्स भन्दा आयुर्वेदिक कस्मेटिक्स उच्च रुपमा उत्पादन भइरहेको छ ।