काठमाडौं  / नेकपा (माओवादी केन्द्र)ले आजदेखि स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदैछ । 

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । 

OM Sai Pathibhara Hospital

कार्यक्रम आज (बुधबार) र भोलि (बिहीबार) काठमाडौँ कमलपोखरीस्थित पुरानो कुमारी हलमा हुने ढकालले बताए । 

कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा विज्ञहरूले प्रशिक्षण दिनेछन् । 

पार्टीका शीर्ष नेता एवं संघीयता विद्, अर्थतन्त्र विज्ञ, पूर्व महान्यायाधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्व प्रशासक लगायतले विभिन्न विषयमा सहभागीलाई प्रशिक्षण दिनेछन् । 

अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका स्थानीय तहका प्रमुखले पनि अनुभव आदानप्रदान गर्ने कार्यक्रम पनि राखिएको ढकालले बताए । 

प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्र रूपमा निर्वाचित उम्मेदवार  र पार्टीका शीर्ष नेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी भएका छन् ।