काठमाडौँ / मंगलबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय २४ अमेरिकी डलर पुगेको छ । गत मंगलबार प्रतिब्यारेल १ सय १० डलर आसपास रहेको ब्रेन्ट कच्चा तेल एक सातामै १४ डलरले बढेको हो । 

डब्लूटीआई तेलको मूल्य १ सय २० डलर पुगेको छ । त्यस्तै रुसबाट आयात हुने ९० प्रतिशत तेल कटौती गर्न युरोपेली संघ (ईयू) सैद्धान्तिक रुपमा तयार भएको रोयटर्सले जनाएको छ ।

OM Sai Pathibhara Hospital

अमेरिका तथा साउदी अरेबिया पछि रुस धेरै तेल उत्पादन गर्ने तेस्रो ठूलो मुलुक रहेकाले विश्वको आपूर्ति शृंखलामै समस्या आएको हो । 

युक्रेनमाथि रुसको आक्रमणलाई लिएर युरोपेली मुलुकले तेलसहित रुसका विभिन्न उत्पादनमा प्रतिबन्ध लगाएका छन् । भारतसहित अन्य मुलुकलाई समेत रुसबाट तेल खरिद नगर्न अमेरिकाले चेतावनी दिँदै आएको छ ।

भारतबाट नेपाल आयल निगमलाई पछिल्लो समय तेलको मूल्य उच्च दरले बढेर आएको छ । यसले नेपाल आयल निगमलाई पनि तेलको मूल्य बढाउन दवाव परेको छ ।

निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) लाई भुक्तानी गर्नुपर्ने रकम पनि बढ्दै जाने भएकाले मुलुकको ब्यापार घाटा बढ्ने भएको छ । 

नेपालमा आयात हुने वस्तुमा रकमका आधारमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठूलो अर्थात १५ प्रतिशत छ ।