काठमाडौं / सरकारले सरकारी कर्मचारीहरूको तलब वृद्धि गरेको छ ।

OM Sai Pathibhara Hospital

अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत गरेको आव २०७९/८० को बजेटमार्फत १५ प्रतिशत तलब वृद्धिको घोषणा गरिएको हो ।

यससँगै अब विभिन्न तहका कर्मचारीको तलब कम्तिमा ३५ सय २० रुपैयाँदेखि १० हजार २६० रुपैयाँसम्म बढेको छ। यसअघि दिँदै आएको मासिक २ हजार रुपैयाँ भत्तालाई निरन्तरता दिइएको छ। 

चालु वर्ष २०७८/७९ का लागि पूर्वअर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब नबढाएर भत्ता सोलोडोलो दुई हजारले बढाएका थिए।

तर, यसपालि भने अर्थमन्त्री शर्माको बजेटबाट तलब १५५ ले बढेको हो। बढेको तलब निजामतीका साथै प्रहरी, सेना, शिक्षक र प्राध्यापकहरूका लागि पनि लागू हुनेछ।

कर्मचारीहरूको सेवा सुविधा प्रत्येक २/२ वर्षमा पुनरावलोकन गर्ने व्यवस्था रहे पनि कोभिड असरले गर्दा चालु वर्षमा दुई हजार भत्ता मात्रै वृद्धि गरिएको थियो। 

कुन पदका कर्मचारीको कति पुग्यो तलब ?

सरकारी कर्मचारीहरूले मासिक पाउँदै आएको वेतन (भत्ताबाहेक) १५५ ले तलब वृद्धि गरेपछि सबैभन्दा न्यूनतम तलब बढेको प्रथम तहका कर्मचारीको पनि ३५२०.२० रुपैयाँले बढेर करिब २७ हजार रुपैयाँ पुगेको छ। 

यस्तै, द्वितीय तहको करिब ३७ सय रुपैयाँले बढेर २८ हजार ३ सय ५५ रुपैयाँ पुगेको छ। तृतीय स्तरका कर्मचारीको तलब पनि करिब ३९ सय रुपैयाँले बढेर ३० हजार नजिक पुगेको छ। 

यसैगरी, चौथो स्तरका कर्मचारीको हालको मासिक तलब करिब ४२ सय रुपैयाँ र पाँचौ स्तरको करिब ४६ सय रुपैयाँले बढेको छ भने राजपत्र अनंकित कर्मचारीको तलब कम्तिमा ४५ सय ६० रुपैयाँदेखि बढीमा ४९ सय २० रुपैयाँसम्मले बढेको छ।

यस्तै, राजपत्रांकित कर्मचारीहरूको तलब खाइपाइ आएको बाट न्यूनतम करिब ६ हजार रुपैयाँदेखि अधिकतम १० हजार २ सय ६१ रुपैयाँसम्मले बढेको छ। 

यससँगै अब सरकारी कर्मचारीहरूको मासिक तलब कम्तिमा २६ हजार ९९० रुपैयाँदेखि ७८ हजार ६६७ रुपैयाँसम्म पुगेको छ। यसबाहेक थप दुई हजार रुपैयाँ मासिक भत्ता पनि पाउनेछन्। 

त्यस्तै तृतीय श्रेणीको ४१ हजार ९ सय ७५ रुपैयाँ हुनेछ। यस्तै, द्वितीय श्रेणीको ४६ हजार ३ सय ५७ रुपैयाँ पुग्दा प्रथम श्रेणीका कर्मचारीको ५३ हजार ३ सय ६५ रुपैयाँ पुगेको छ। 

सचिवको मासिक तलब ५६ हजार ५ सय ८२ रुपैयाँ पुग्नेछ भने विशिष्ट सचिवको मासिक तलब ६६ हजार ६ सय ५२ रुपैयाँ भएको छ। यस्तै, मुख्य सचिवको ७० हजार ४ सय ६ रुपैयाँ पुगेको छ।