काठमाडौं  / उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले महिनावारी हुँदा महिलालाई हेप्ने समाजको दृष्टिकोणलाई परिवर्तन गर्न आवश्यक रहेको बताएकी छन्। उनले महिला महिनावारी हुनु भनेको कुनै नराम्रो कुरा नभइ महिला परिपक्व भएको टुंगो लागेको बताइन्।

मन्त्री भुसालले महिनावारी हुनु पाप नभइ गर्वको कुरा भएको भन्दै पछिल्लो समय सोचमा परिवर्तन भइरहेको जानकारी दिइन्। उनले स्यानिटरी प्याडको निःशुल्क वितरण भएसँगै विद्यार्थीहरू अध्ययनबाट वञ्चित हुनु नपरेको समेत बताइन्।

OM Sai Pathibhara Hospital

मन्त्री भुसालले अझै शहरमा पनि महिला महिनावारी हुँदा विभिन्न समस्या भोगिरहनु परेको भन्दै यसविरुद्ध सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताइन्।

उनले भनिन्, ‘महिलाको शरीरमा यस्तो एउटा जैविक बनावट छ। जसले शरीरका हरेक विकृत पदार्थहरू महिनावारीको रुपमा एउटा निश्चित उमेर पुगेपछि र एउटा निश्चित उमेर अवधिसम्म बहिर्गमन गराउने मासिक प्रक्रिया हो। यसलाई क्रमशः बुझ्दै जाँदा यो राम्रो प्रक्रिया हो। यसले महिलामा मातृत्वको क्षमता भएको पहिचान गराउँछ। पछिल्लो पटक स्यानिटरी प्याडको आफ्नै ढंगले विकास भएको छ।’