काठमाडौं / सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने घोषणा गरेको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विज्ञान, गणित, अंग्रेजी र प्रविधि शिक्षकको अभाव नहुने गरी शिक्षक दरबन्दी पुनरावलोकन गर्ने बताएकी छिन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै, गुणस्तरीय शिक्षाको राष्ट्रिय मानक निर्धारण गर्ने विशिष्टीकृत नमुना विद्यालय सञ्चालनमा ल्याइने समेत बताइएको छ । 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी शैक्षिक गुणस्तर वृद्धि, भौतिक पूर्वाधार विकास र अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । 

दिवा खाजा कार्यक्रमलाई कक्षा आठसम्म विस्तार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै , सरकारले गैरसरकारी संस्थाको दर्ता तथा नियमनका लागि कानुन जरुरी रहेको भन्दै संस्थाका कामको अनुमन गरिने पनि बताइएको छ ।

सामाजिक संघ संस्थाको पारदर्शितालाई प्रभावकारी बनाउन राष्ट्रिय आवश्यकताका क्षेत्रमा काम गर्न प्रोत्साहित गरिने समेत उल्लेख गरिएको छ । 

अन्तराष्ट्रिय गैर सरकारी संस्थाका कार्यक्रमलाई समेत अनुगमन गरेर नियमन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।