झापा / सरकारले खाना पकाउने ग्यासको विस्थापनका लागि विद्युतको महसुल दरमा पुनरावलोकन गर्ने भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन् । 

OM Sai Pathibhara Hospital

सरकारले नीति तथा कार्यक्रममार्फत विपन्न वर्गलाई निःशुल्क विद्युत मिटर वितरण गर्ने घोषणा समेत गरेको छ ।

विद्यालय र अस्पतालमा ५० प्रतिशत इन्टरनेट सहुलियत दिने 

सरकारले आगामी आर्थिक वर्षदेखि देशभरका माध्यमिक तहका सामुदायिक विद्यालय र सामुदायिक अस्पतालमा इन्टरनेटको न्यूनतम शुल्कमा ५० प्रतिशत सहुलियत उपलब्ध गराउने भएको छ । 

ग्रामीण दूरसञ्चार प्रविधि कोषको उपयोग गरी आगामी आर्थिक वर्षदेखि देशभरका माध्यमिक तहका सामुदायिक विद्यालय र सामुदायिक अस्पतालमा इन्टरनेटको न्यूनतम शुल्कमा ५० प्रतिशत सहुलियत उपलब्ध गराउने भण्डारीले बताइन् । 

उनले आगामी वर्ष सातै प्रदेशका कम्तिमा १ सय माध्यमिक तहका सामुदायिक विद्यालयहरूमा छानिएका विषयहरूमा समान गुणस्तरको शिक्षा उपलब्ध गराउन सूचना प्रविधिको प्रयोग गर्ने पनि बताइन् ।  

राष्ट्रपति भण्डारीले दुर्गम क्षेत्रका अस्पतालमा गुणस्तरीय टेलिमेडिसिन सेवा उपलब्ध गराउन आवश्यक प्रविधिको व्यवस्था गरिने पनि बताइन् ।

प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला बनाइने

सरकारले आगामी आर्थिक वर्षदेखि प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको कामलाई अघि बढाउने जनाएको छ । सरकारको नीति तथा कार्यक्रममा प्रत्येक प्रदेशमा प्रशिक्षण सुविधासहितको रङ्गशाला बनाउने नीति लिइएको हो ।

गैँडाकोटमा विपी कोइराला अन्तर्राष्‍ट्रिय खेल मैदान निर्माण गर्ने तथा सबै स्थानीय तहमा खेल मैदान निर्माण गर्दै लैजाने नीति लिइने जनाइएको छ । 

यस्तै खेलकुद तालिम दिँदै जाने र खेलकुद विश्वविद्यालयको सम्भाव्यता अध्ययन गर्ने र भरतपुरमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको काम पूरा गर्न समन्वय र सहजीकरण गरिने जनाइएको छ ।