बिर्तामोड / झापाका १५ वटा पालिका मध्ये ११ पालिकाका नवनिर्वाचित नगर प्रमुख तथा अध्यक्षहरूलाई आज (सोमबार) बिहान झापाका मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले पद तथा गोपनियताको शपथ खुवाएका छन् । 

जिल्ला अदालतमा आयोजित सपथग्रहण कार्यक्रममा गौतमले ११ पालिकाका नवनिर्वाचित नगर प्रमुख र अध्यक्षहरूलाई अनुसूची २ को दफा १०९ अनुरूप शपथ खुवाएका हुन् । 

OM Sai Pathibhara Hospital

शपथ ग्रहण गर्नेमा मेयरतर्फ भद्रपुर नगरपालिकाका गणेश पोखरेल, बिर्तामोड नगरपालिकाकी पवित्रा महतरा, कनकाई नगरपालिकाका राजेन्द्रकुमार पोखरेल, दमक नगरपालिकाका राम थापा, अर्जुनधारा नगरपालिकाका बलदेवसिंह गोम्देन तामाङ, शिवसतासी नगरपालिकाका मेघाहाङ थोप्रा रहेका छन् । 

त्यस्तै अध्यक्षहरू बुद्धशान्ति गाउँपालिकाका मनोज प्रसाईँ, कचनकवल गाउँपालिकाका कालेन्द्र प्रसाद सिंह राजवंशी, हल्दीबारी गाउँपालिकाका रवीन्द्र लिङ्देन, बाह्रदशी गाउँपालिकाका देवेन्द्रप्रसाद चौलागाईँ, झापा गाउँपालिकाका जयनारायण साहले शपथ लिएका हुन् । 

पालिकामा निर्वाचित उपमेयर, वडा अध्यक्ष र सदस्यहरूलाई भने नवनिर्वाचित मेयर तथा अध्यक्षले शपथ खुवाउँने छन् । शपथ लिएका पालिकाका मेयर तथा अध्यक्षहरूले आजै आ–आफ्ना पालिकाका उपमेयर, वडा अध्यक्ष र सदस्यहरूलाई शपथ खुवाउँदै आजै पालिकाहरूमा पदभार ग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ ।   

मुख्य निर्वाचन अधिकृत गौतमका अनुसार गौरीगञ्ज गाउँपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाको परिणाम सार्वजनिक भएको र  मेचीनगर नगरपालिकाको मतगणना अझै जारी रहेकोले चार पालिकाका मेयर तथा अध्यक्षहरूलाई दोस्रो चरणमा शपथ ग्रहण गराइने छ ।