धरान / सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ राई विजयी भएका छन् । 

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै लौरो चुनाव चिन्हबाट मेयरको उम्मेदवार बनेका हर्कराज धरान उपमहानगरको मेयरमा विजयी भएका हुन् । 

OM Sai Pathibhara Hospital

हर्कराजले २० हजार ८२१ मत प्राप्त गरेका छन् भने कांग्रेसका किशोरले १६ हजार ५९ मत प्राप्त गरेका छन् ।  त्यस्तै मेयरकी उम्मेद्वार नेकपा एमालेकी मन्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत ल्याएकी निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ । 

पिउने पानीको चरम अभाव खेप्दै आएको धरानमा पानीकै मुद्दा बोकेर आधा दशकयता एक्लो अभियानमा लागेका हर्कराजलाई धरानले त्यही अभियानलाई विश्वास गर्दै अमूल्य मत दिएर जिताएका छन् । 

त्यसैगरी उपमेयरमा भने नेपाली कांग्रेससँग गठबन्धन गरेका माओवादी केन्द्रका आइन्द्र विक्रम बेघा निर्वाचित भएका छन् । 

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम प्रसाद लिम्बुलाई दुई हजार ६०६ मतान्तरले हराउँदै बेघा उपमेयरमा निर्वाचित भएका हुन् । 

उनले २० हजार ५१० मत प्राप्त गरेका छन् भने लिम्बुले १७ हजार ६०६ मत प्राप्त गरेका छन् ।