काठमाडौं / स्थानीय तह निर्वाचनमा यसपटक स्वतन्त्र उम्मेदवारको लहर तथा चर्चा समेत बढिरहेको छ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साह सर्वाधिक चर्चामा आएसँगै देशभरका स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिएकाहरू जितको नजिक पुगेका छन् र केही विजयी समेत भएका छन् ।

महोत्तरी जिल्लाको बर्दिबासमा प्रमुखमा स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्री १४ हजार २ सय १० मत प्राप्त गरेर र उपप्रमुख पदमा स्वतन्त्र प्यानलबाट तारादेवी महतो ९ हजार ७ सय ३६ मत पाएर विजयी भएकी छन् ।

OM Sai Pathibhara Hospital

माथिल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार कर्मा छोइवेल गुरुङ ५ सय  ३५ मत पाएर विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार तेम्बा गुरुङले ३ सय २ मत पाएका छन् ।

कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी १ हजार ८ सय २२ मत प्राप्त गर्दै विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्मरबहादुर शाहीले १ हजार ३ सय २५ मत पाएका छन् ।

दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ को वडाध्यक्षमा कांग्रेसका बागी स्वतन्त्र उम्मेदवार सुनील वली ६ सय २९ मत ल्याएर विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार ठाकुरप्रसाद केसीले ५ सय ९७ मत पाएका छन् । 

ललितपुर महानगरपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकारले ६ सय ६१ मत प्राप्त गर्दै विजयी भएका छन् ।

कर्णाली प्रदेश अन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत र खाँडाचक्र नगरपालिकाको प्रमुखमा कमलबहादुर शाही पनि निर्वाचित भएका छन् । 

जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ मा स्वतन्त्र उम्मेदवार धनबहादुर कामीले २ सय ८८ मत पाएर वडाध्यक्ष जितेका छन् । पाँचथरको फालेलुङ वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार अनिष गुरागाईं विजयी भएका छन् । 

भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार दौलथकुमार कुलुङ विजयी भएका छन् ।  भोजपुरकै मानेभन्ज्याङ गाउँपालिका अध्यक्षमा पनि स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्लदाली ५ हजार २१ मतका साथ विजयी भएका छन् ।

बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर ३ मा स्वतन्त्र उम्मेदवार नारायण मल्ल विजयी भएका छन् । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार सुन्दर वली ५ सय ७७ मत पाएर विजयी भएका छन् । 

मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं १८ मा स्वतन्त्र उम्मेदवार जितेन्द्रकुमार साह वडाअध्यक्षमा विजयी भएका छन् । 

हुम्लाको चङ्खेली गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाहीले  १ हजार ६ सय ९५ मत पाएर विजयी भएका छन् । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रेमसिंह बडैला १ हजार ७० मत पाएर विजयी भएका छन् । 

सिरहा नगरपालिका वडा नम्बर २१ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार सुरेन्द्र मण्डल ४ सय ७१ मत पाएर विजयी भएका छन् । मनाङ ङिस्याङ गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत सहित निर्वाचित भएका छन् ।

बाजुराको बुढीनन्दा नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन् । डिलासैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशी निर्वाचित भएका छन् ।
 
सुनसरीको धरान उपमहानगरपालिका प्रमुखमा चुनाव लडेका स्वतन्त्र उम्मेदवार हर्क साङपाङ राईले कांग्रेसका उम्मेदवारसँग अग्रता लिइरहेका छन् । यस्तै, जनकपुरधाम उपमहानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले पनि ३ हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन् ।

कैलालीको धनगढी उपमहानगर प्रमुखका स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । भरतपुर महानगरपालिकामा प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले तेश्रो स्थानमा मत प्राप्त गरेका छन् ।

पोखरा महानगरमा ‘लौरो’ चुनाव चिह्न पाएका मेयरका स्वतन्त्र उम्मेदवार गनेश पौडेलले अपेक्षा गरेको परिणाम प्राप्त गर्न सकेका छैनन् । त्यस्तै , मोरङको विराटनगर महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादव पनि तेश्रो स्थानमा रहेका छन् ।

देशभर नगरप्रमुखका लागि १ हजार ३ सय ९३ जनाको स्वतन्त्र उम्मेदवारी परेको थियो भने गाउँपालिका अध्यक्षका लागि १ हजार ३२ जनाको स्वतन्त्र उम्मेदवारी परेको थियो ।

उपमेयरमा देशभरबाट २ हजार १ सय ५८ जनाको उम्मेदवारी पर्दा ३ सय ९६ जनाको स्वतन्त्र उम्मेदवारी परेको थियो भने देशभरबाट उपाध्यक्ष पदका लागि ३ सय ६४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

वडाध्यक्षका लागि देशभरबाट ३५ हजार २ सय ६५ जनाको उम्मेदवारी पर्दा ५ हजार ८ सय ९७ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।