काठमाडौँ / प्रतिनिधिसभा सदस्य रेशम चौधरीले जेलबाटै खोलेको पार्टीले चार पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ । 

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार चौधरीको नागरिक उन्मुक्ति पार्टीले टीकापुर र भजनी नगरपालिकामा प्रमुख तथा जोशीपुर र जानकी गाउँपालिकामा अध्यक्षमा जित हासिल गरेको हो ।   

OM Sai Pathibhara Hospital

टीकापुर नगरपालिका प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा विजयी भएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवराज रावललाई तीन हजार मतान्तरले पराजित गर्दै टीकापुरको नगरप्रमुखमा विजयी भएका हुन् । 

डगौराले ९ हजार ६४२ मत पाएका छन् भने रावलले ६ हजार ६४२ मत पाएका छन्। 

त्यस्तै भजनी नगरपालिकाको प्रमुख पदमा पनि नागरिक उन्मुक्ति पार्टीका केवल चौधरी विजयी भएका छन् । उनी ८ हजार ९६६ मतले निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर चौधरीले ५ हजार १९८ मत ल्याएका छन्। 

यसैगरी जोशीपुर गाउँपालिकाको अध्यक्षमा पनि नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी विजयी भएका छन्। 

उनले ४ हजार ९०३ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बन्सराम बडायकले ३ हजार ३६८ मत प्राप्त गरेका छन् । 

यस्तै जानकी गाउँपालिकामा उक्त पार्टीका तर्फबाट पत्रकार गणेश चौधरी विजयी भएका छन्। कान्तिपुर दैनिकमा आवद्ध उनी राजीनामा दिएर निर्वाचनमा होमिएका थिए। चौधरी ७ हजार १५१ मतसहित गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन्। 

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका परशुराम महतो (कठरिया) ले ५ हजार २४२, एमालेका टेकबहादुर बमले ४ हजार २४१ मत ल्याएका छन्। 

निर्वाचन आयोगले गत १९ पुसमा  ‘नागरिक उन्मुक्ति पार्टी’ लाई नयाँ दलका रुपमा मान्यता दियो। 

उक्त दलकी अध्यक्ष थिइन्– रञ्जिता श्रेष्ठ। सुरुमा यो दल कैलाली –१ बाट प्रतिनिधिसभा सदस्य चौधरीको नाममा दर्ता गर्ने तयारी थियो।

टीकापुर नरसंहारका मुख्य दोषी भनिएका चौधरी डिल्लीबजार कारागारमा रहेका कारण तयारी सम्भव नभएपछि उनकी श्रीमती रञ्जिताले आफ्नो नाममा दल दर्ता गराएकी थिइन्।  

दल दर्ता भएपछि रञ्जिताले गृहनगर टीकापुर क्षेत्रका थारू अगुवासँगको छलफल र भेटघाटलाई तीव्रता दिन थालिन्। उनले आउँदै गरेको स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर राजनीतिक गतिविधि बढाइन्।

थारु समुदाय रेशमको नाममा उनकी श्रीमती रञ्जिताको पछि नलाग्ने अधिकांशको बुझाई थियो।   

ठूला दलका नेता–कार्यकर्ताले ‘नागरिक उन्मुक्ति पार्टी’ का राजनीतिक गतिविधिलाई सामान्य रुपमा लिए पनि रञ्जिता कैलालीको दक्षिण पूर्वी ग्रामीण क्षेत्रमा व्यस्त रहिन्। थारु समुदायलाई आफ्नो पक्षमा तान्न उनले त्यहाँ आफूलाई सक्रिय बनाइन्।   

दल दर्ताको छोटो समयमै रञ्जिताले स्थानीय तह निर्वाचनका लागि टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिकामा पार्टीका उम्मेदवार खडा गरेकी थिइन् ।