गुल्मी / स्थानीय तह निर्वाचनमा गुल्मीको एक वडाबाट पोखरेलकी छोरी दलित महिला सदस्यमा निर्वाचित भएकी  छिन् ।

दलित समुदायका युवासँग अन्तरजातीय विवाह गरेकी मिना पोखरेल परियार दलित महिला सदस्यमा विजयी भएकी हुन् । 

OM Sai Pathibhara Hospital

नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी उनी सहित स्वतन्त्र उम्मेदवार मधु दर्जी र नेपाली कांग्रेसबाट पार्वती बिक दलित पनि दलित महिला सदस्यका उम्मेदवार थिए ।

मिना पोखरेल परियार ८ सय ९९ मत प्राप्त गर्दै विजयी भएकी छिन् । उनलाई पछ्याउँदै निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी पार्वती बिकले ४ सय २६ मत प्राप्त गरेकी छिन् भने स्वतन्त्र उम्मेदवार मधु दर्जीले जम्मा २४ मत प्राप्त गरेकी छिन् । 

मिनाले छिमेकी शिक्षक तथा पत्रकार पुष्कर खड्काको प्रेरणामा आफूले जनप्रतिनिधि हुने अवसर पाएको भन्दै खड्कालाई धन्यवाद दिएकी छिन् । 

मिनाले अन्तरजातीय विवाह गरेर सदियौं देखि जातीय विभेदको जन्जिर तोड्दै समाजको सामना गरेपछि उनलाई उम्मेदवारी दिन प्रोत्साहन गरेको शिक्षक तथा प्रेस सेन्टर नेपालका सदस्य पुष्कर खड्काले बताएका छन् । 

त्यसयता पनि उनले महिलामाथि र दलितमाथि हुने अन्याय र अत्याचारविरुद्ध महिलाहरूलाई सङ्गठित गर्दै सशक्त ढंगले सामाजिक सेवा सक्रियता देखाउँदै आएकी थिइन् । 

जातीय रुपमा कुनै समय कट्टर मानिएका उनका माइती जैसी ब्राम्हण पोखरेल परिवारबाट दलितका छोरासँग विवाह गर्दा उनले खासै ठुलो चुनौती मोल्नु परेको थिएन । 

धुर माविमै पढ्दा देखि नै माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सदस्यता लिएको उनले बताएकी छिन् । 

गुल्मीमा अहिलेसम्म प्राप्त जानकारी अनुसार उनी सबैभन्दा कान्छी विजयी उम्मेदवार पनि रहेकी छिन् ।