बिर्तामोड / भारतले गहुँको निर्यातमा रोक लगाएपछि नेपाली बजारमा गहुँ, मैदा र सुजीको पिठो र चोकरको अभाव हुनसक्ने भएको छ । 

स्वदेशमा उत्पादित गहुँले जेठ भर धाने पनि असारदेखि भने गहुँमा आधारित उपभोग्य उत्पादनहरूको अभाव हुनसक्ने नेपाल पिठो मिल सङ्घ प्रदेश १ का सचिव विकास बिगवानीले बताएका छन् ।

OM Sai Pathibhara Hospital

प्रदेश नं १ र २ का बाह्र वटा पिठो उद्योगहरूले वार्षिक ८० हजार टन गहुँ भारतबाट आयात गर्दे आएको समेत बिगवानीले बताएका छन् ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको गत चैतसम्ममा भारतबाट करिब दुई लाख टन गहुँ आयात गरिएको छ । 

त्यस्तै, गहुँको सबैभन्दा ठूला निर्यातकर्ता रहेका रुस र युक्रेनबीच जारी द्वन्द्व र विभिन्न देशहरूले रुसमाथि लगाएको प्रतिबन्धका कारण विश्वभर गहुँको अभाव भएको छ ।

भारत सरकारले गत शुक्रवार बढ्दो मूल्य नियन्त्रणका लागि गहुँ निर्यातमा रोक लगाएको छ । भारतले पनि देशमा सम्भावित खाद्य सङ्कटलाई रोक्न गहुँ अन्य देशमा नपठाउने बताएको हो ।

गहुँ आउन बन्द हुँदा नेपालमा त्यसमा आधारित उत्पादनहरूको अभाव हुने भएको छ । भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा भारतबाट गहुँको आयातमा कमी भइरहेको बताएका छन् ।

आयात बन्द हुँदा नेपालका कुनकुन उद्योग प्रभावित भए हेर्ने र सोही अनुसार आवश्यकता पूर्तिको उपाय खोज्ने समेत खड्काले बताएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण प्रसाद रेग्मीले पनि हाल कृषि मन्त्रालयसँग गहुँ सम्बन्धी विवरण लिइरहेको जानकारी दिएका छन् ।

नेपालमा सङ्कट नै आउने स्थिति बन्यो भने परराष्ट्र मन्त्रालय मार्फत गहुँ निकासीका निम्ति भारत सरकारसँग माग गर्न सकिने उनले बताएका छन् ।