एजेन्सी / पाम आयलको निर्यातमा लगाएको प्रतिबन्ध इन्डोनेसियाले हटाउने  भएपछि नेपाली बजारलाई निकै राहत मिल्ने भएको छ । 

पछिल्लो समय मुलुकमा खाद्य तेलको मूल्य उच्च बिन्दुमा पुगेको समयमा इन्डोनेसियाले प्रतिबन्ध हटाउँदा नेपालीलाई केही थप राहत मिल्ने भएको हो ।

OM Sai Pathibhara Hospital

पाम आयलको विश्वको सबैभन्दा ठूलो उत्पादक रहेको इन्डोनेसियाले पाम आयलको निर्यातमा लगाएको प्रतिबन्ध सोमबारदेखि हटाउने भएको छ । 

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले पाम आयल उद्योगमा कार्यरत करिब १ करोड ७० लाख कर्मचारीलाई राहत दिन यो निर्णय गरेको बताएका छन् ।

पछिल्ला महिनाहरूमा इन्डोनेसियामा अकासिएको खाद्य तेलको मूल्य घटाउन सरकारलाई दबाब परेपछि तेलको निर्यातमा प्रतिबन्ध लगाइएको थियो ।

इन्डोनेसियाबाट पाम आयल निकासीमा प्रतिबन्ध लागेपछि भारत र नेपालमा समेत कठिन परिस्थितिको सिर्जना भएको थियो । पाम आयल विश्वमा सबैभन्दा सस्तो भएकाले पनि खपत र आयात धेरै हुने गरेको छ । 

तरकारी तेल उत्पादक र व्यापारिक संस्था, सोल्भेन्ट एक्स्ट्रक्टर एसोसिएसन अफ इन्डियाका कार्यकारी निर्देशक डा बीभी मेहताले इन्डोनेसियाले प्रतिबन्ध हटाएपछि यसले नेपालमा पनि केही न केही सकारात्मक परिणाम दिने बताएका छन् ।