काठमाडौं / अन्तराष्ट्रिय बजारमा महँगाइ बढेसँगै इन्धन आयातका लागि सरकारले चुनौती खेपीरहेको समयमा स्थानीय तह निर्वाचनको दौडधूपका कारण पेट्रोलियम पदार्थको खपत अझै बढेको छ । 
 
आगामी वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलका उम्मेदवार लगायतले चुनाव प्रचारमा सवारीसाधनको व्यापक प्रयोग गरेपछि इन्धन खपत बढेको हो ।
 
दलका नेता , कार्यकर्ता लगायत उम्मेदवारले प्रचारका लागि सवारीसाधनको प्रयोग गरेसँगै चुनाव व्यवस्थापनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले पनि सवारीसाधन प्रयोग गरेका छन् । 

OM Sai Pathibhara Hospital

चुनावका कारण पेट्रोल, डिजल, एलपीजी ग्यास र हवाई इन्धनको खपतमा वृद्धि भएको नेपाल आयल निगमका सहप्रवक्ता पुष्कर कार्कीले बताएका छन् ।

हाल देशभर पेट्रोलको खपत दैनिक ३ हजार किलो लिटर भन्दा बढी भइरहेको छ । निगमका अनुसार वैशाख १७ गते  ३१ केएल,  १८ गते १०१ केएल, १९ गते ४,९१० केएल, २० गते १८२ केएल, २१ गते २,२२५ केएल ,२२ गते ३,१६५ केएल, २३ गते ३,५५८ केएल पेट्रोलको बिक्री भएको छ । 

त्यस्तै, २४ गते शनिबार ११ केएल पेट्रोल बिक्री भएकोमा २५ गते आइतबार ३,९४३ केएल पेट्रोलको बिक्री भएको निगमले जनाएको छ ।

सामान्य दिनमा पेट्रोलको दैनिक खपत २ हजारदेखि २२ सय केएल हाराहारी हुने गरेको थियो भने डिजेलको खपत पनि बढेको छ । गत १९ गतेदेखि डिजेलको बिक्री ७ हजार केएल भन्दा बढी हुन थालेको हो। सामान्य समयमा डिजेलको बिक्री ६ हजार केएल रहेको सहप्रवक्ता कार्कीले बताएका छन् ।

त्यस्तै , हवाई इन्धन भने वैशाख १७ गते ५५६ केएल बिक्री भएको थियो भने त्यसयता २५ गतेसम्म ५ सय ५ केएल हवाई इन्धन बिक्री भएको छ ।

अहिले एलपी ग्यासको पीडीयो इस्यु ४७ हजार टनभन्दा बढी रहेको छ भने यसअघि ग्यासको खपत महिनामा करिब ४५ हजार  टनसम्म हुने गरेको थियो ।

निगमका अनुसार हाल पेट्रोलको मौज्दात ६ हजार २ सय केएल, डिजेल ३५ हजार ६ सय केएल, मट्टितेल १६ सय ३६ केएल  र हवाई इन्धन ६ हजार ७ सय ६४ केएल रहेको छ ।