झापा / निर्वाचन आसन्न स्थानीय तह निर्वाचनका लागि प्रदेश १ बाट २२ हजार एक सय ९४ जनाले मनोनयन दर्ता गराएका छन् । 

निर्वाचन आयोगले आज (मंगलबार) बिहान १२ः०० बजे सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश १ का स्थानीय तहबाट २२ हजार एक सय ९४ जनाले मनोनयन दर्ता गराएका हुन् ।  

OM Sai Pathibhara Hospital

त्यस्तै मधेसमा ३६ हजार २७५ जना, बागमतीमा २३ हजार ६५४, गण्डकीमा १२ हजार ३१४, लुम्बिनी २२ हजार ४२१, कर्णालीमा १२ हजार ८४८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ७६२ जनाले उम्मेदवारी दिएका आयोगले जनाएको छ । 

नगरपालिकाको प्रमुखमा तीन हजार ३१८ र उपप्रमुखमा दुई हजार ३६ को मनोनयन दर्ता भएको छ भने गाउँपालिका अध्यक्षमा तीन हजार ३०६, उपाध्यक्षमा दुई हजार ३४३ र वडाध्यक्षमा ३३ हजार १११ को मनोनयन दर्ता भएको छ । 

याे पनि : स्थानीय तहको निर्वाचन : प्रदेश १ मा मात्रै २१ हजार ८७९ को मनोनयन दर्ता

यस्तै २४ हजार २८३ महिला सदस्य, २१ हजार ९७९ महिला दलित सदस्य र ५१ हजार ९२ सदस्यको मनोनयन दर्ता भएको छ । 

स्थानीय तह निर्वाचनका लागि देशभरबाट एक लाख ४१ हजार चार सय ६८ जनाको मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । 

सात सय ५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कुल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ । 

आयोगको कार्यतालिका अनुसार आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको थियो । त्यस्तै आज (मंगलबार) उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ । 

वैशाख १४ र १५ गते मनोयन पत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय दिने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन तथा वैशाख १६ गते उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।