काठमाडौं / निर्वाचन आयोगले स्थानीय सरकारको निर्वाचनका लागि मनोनयन दर्ता गर्नेको संख्या सार्वजनिक गरेको छ । 

आयोगले मंगलबार बिहान साढे ७ बजेसम्मको तथ्याङ्कअनुसार एक लाख ३७ हजार ४३ जनाले मनोनयन दर्ता गरेको भन्दै संख्या सार्वजनिक गरेको हो । 

OM Sai Pathibhara Hospital

आयोगले ती पदहरूमा  प्रदेश १ मा २१ हजार ८७९ जनाले , सर्वाधिक मधेस प्रदेशमा ३४ हजार ७४७ जनाले , बाग्मती प्रदेशमा २३ हजार ९६ जनाले र लुम्बिनी प्रदेशमा २१ हजार ७५९ जनाले मनोनयन दर्ता गराएका छन् । 

त्यस्तै , कर्णाली प्रदेशमा १२ हजार ३१८ जना, गण्डकी प्रदेशमा १२ हजार १४६ जना र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९८ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ । 

प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य पदमा मनोनयन दर्ता भएको छ भने ६ महानगर, ११ उपमहानगरसहित ७५३ वटा स्थानीय तहमा आइतबार र सोमबार मनोनयन दर्ता भएको थियो ।