बिर्तामोड / अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि भएपछि नेपाल उद्योग परिसंघ (सीएनआई) ले पनि अर्थतन्त्रमा आउने सक्ने सम्भावित जोखिम विस्थापन गर्नका लागि हेजिङको सुविधा लागू गर्न सुझाव दिएको छ । सीएनआईले अर्थतन्त्र सुधार गर्दै विदेशी लगानी खुला गर्दा नेपालको थलिएको अर्थतन्त्रको स्तरोन्नति गर्न सकिने भन्दै सरकारलाई विभिन्न उपायहरू सहित सुझाव दिएको हो ।  

अर्थतन्त्रमा समस्या देखिएपनि श्रीलंका जस्तो अवस्थामा अहिले पुग्न नसक्ने भन्दै परिसङ्घले समस्या हल गर्न उपायहरू समेत सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा परिसङ्घले उद्योगी व्यवसायी सहित सरोकारवालासँग समेत छलफल गरेर निष्कर्ष निकालेको दावी गरेको छ । 

OM Sai Pathibhara Hospital

मुलुकमा आर्थिक संकट भएपनि आत्तिहाल्नु पर्ने अवस्था नआएको बताउँदै समाधान खोज्न तर्फ लाग्नु उचित हुने सीएनआई अध्यक्ष विष्णु अग्रवालले बताएका छन् । अग्रवालले वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा उल्लेख्य बढेकाले आगामी दिनमा विप्रेषण बढ्ने, पर्यटक आगमन उच्च दरले बढ्दै गएकाले पर्यटन आय बढ्ने भएकाले अर्थतन्त्रमा सुधार आउने आशंका गरेका छन् ।

सीएनआईका पूर्वउपाध्यक्ष अनुज अग्रवालले पनि मुलुकका पाँच सूचकाङ्कमा समस्या नदेखिएकाले श्रीलंकासँग तुलना गर्न नमिल्ने दाबी गरेका छन् । राष्ट्र बैंकका पछिल्ला कदमले बजारलाई त्रासको वातावरणमा पुर्‍याएको समेत सीएनआईले दाबी गरेको छ ।