झापा / भारतले विस्फोटक पदार्थ निर्यातमा रोक लगाएसँगै नेपालमा निर्माणाधीन सडक, जलविद्युत् तथा सुरुङमार्ग परियोजनाहरू प्रभावित हुने भएका छन् । 

विस्फोटक पदार्थको अभावले खानीको उत्खनन तथा पूर्वाधार निर्माणको काम प्रभावित भएको भन्दै भारतले ३० चैतदेखि निर्यातमा रोक लगाएसँगै नेपालमा जलविद्युत्, सडक लगायत पूर्वाधार निर्माण प्रभावित हुने भएका हुन् । 

OM Sai Pathibhara Hospital

विस्फोटक पदार्थ चट्टान, पहाड फोर्न, खानी उत्खनन गर्न र सुरुङ निर्माणमा समेत प्रयोग हुने गरेको छ । 

भारतले बैशाख २ गतेदेखि लागू हुने गरी विस्फोटक पदार्थको निर्यात रोकेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का कोषाध्यक्ष आनन्द चौधरीले जानकारी दिए ।

अहिले नेपालका पूर्वाधार आयोजनामा भारतबाट आयातीत विस्फोटक पदार्थको प्रयोग ८० प्रतिशत हाराहारी हुन्छ । बाँकी २० प्रतिशत भने नेपाली सेनाले नै उत्पादन तथा आपूर्ति गर्दै आएको सरोकारवाला बताउँछन् । 

विस्फोटक पदार्थको निर्यातमा रोक लगाएसँगै भारतले विराटनगरको सीमावर्ती भारतीय नाका जोगबनीबाट दक्षिणमा विगत एक सातादेखि  तीन सय भन्दा बढी मालवाहक सवारी रोकिदिएको छ । 

औद्योगिक र व्यापारिक प्रयोजनका लागि भारतबाट निर्यात गरिने मालवस्तु हतियार वा विस्फोटक पदार्थमा प्रयोग हुनसक्ने भन्दै भारतले तीन सय बढी मालबाहक सवारी रोकिदिएको हो ।