विराटनगर / आसन्न  स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरूबीच चुनावी तालमेल गर्ने सहमति भएपनि भागबन्डाको कुरा नमिल्दा प्रदेश १ मा गठबन्धन जोगाउन मुस्किल भएको छ । 

सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले स्थानीय तहमा आ–आफ्नै दाबी गरेपछि गठबन्धन जोगाउन मुस्किल भएको हो । 

OM Sai Pathibhara Hospital

सत्ता गठबन्धनका दलले सांगठनिक अवस्थाभन्दा बढी माग दाबी गरेपछि स्थानीय निर्वाचनमा गर्ने भनिएको तालमेलले गति लिन नसकेको हो । 

कांग्रेसको चुनावी तालमेलको अन्योलता, एकीकृत समाजवादीले सांगठनिक अवस्थाभन्दा बढी माग, माओवादी र जनता समाजवादीले गत वर्ष जितेभन्दा बढी स्थानीय तहमा सुनिश्चितता हुनुपर्ने माग राखेपछि प्रदेश १ मा गठबन्धनले गति लिन नसकेको बताइएको छ । 

प्रदेश १ का १४ जिल्लामा एक महानगर, दुई उपमहानगरपालिका, ३६ नगरपालिका र ८८ गाउँपालिका गरी १ सय ३७ स्थानीय तह छन् ।

गत निर्वाचनमा एमालेले जितेका सबै स्थानीय तहमा एकीकृत समाजवादीले दाबी गरेपछि गठबन्धनको कुरो नअड्किएको कांग्रेस प्रदेश उपसभापति रमेशजंग रायमाझीले बताए । 

एमाले अघिल्लो निर्वाचनमा प्रदेश १ का ४६ प्रतिशत स्थानीय तहमा विजयी भएको थियो । ती सबै स्थानीय तह एकीकृत समाजवादीलाई दिएर वडामा पनि सदस्य दिनुपर्ने उसको माग छ । 

कांग्रेसको तालमेल गर्ने वा नगर्ने मनोगत धारणा र एकीकृत समाजवादीको गर्विलो मागले तालमेलको सहमति हुन नसकेको माओवादी केन्द्रका प्रदेश सचिव गणेश उप्रेतीले जानकारी दिए ।