बिर्तामोड / पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेको भन्दै नेकपा एकीकृत समाजवादी झापाका प्रभावशाली नेता लोकबन्धु कन्दङ्वासहित पाँच जनाले पार्टी परित्याग गरेका छन् । 

अनारमनी गाविसका पूर्व जनप्रतिनिधि समेत रहेका कन्दङ्वा, गोपिचन्द्र गिरी, प्रकाश पुरी, महेन्द्र खरेल र गीता कँडेलले पार्टी परित्याग गरेका हुन् । 

OM Sai Pathibhara Hospital

एमाले विभाजनका वेला माधव नेपाल नेतृत्वको नेकपा एसको पक्षमा लागेका उनीहरूले वैचारिक, पद्धतिगत र प्रवृतिगत दृष्टिकोणले पार्टी विभाजनको औचित्य नेतृत्वले स्पष्ट पार्न नसको आरोप लगाएका छन् । नेतृत्वले भविष्यमा पनि विभाजनको औचित्य पुष्टि गर्न नसक्ने उनीहरुको दावी छ । 

एमसीसी सम्झौता संसद्बाट पास गर्न सहयोग पुर्याइ पार्टीले राष्ट्रघाती काम गरेको निष्कर्ष उनीहरूको छ । राष्ट्रघात गर्ने पार्टीमा बसिरहन नैतिक रूपले नमिल्ने ठहर गर्दै राजीनामा दिएको नेकपा एसका केन्द्रीय सदस्य लोकबन्धु कन्दङवाले बताए । 

कन्दङ्वासहित केन्द्रीय सल्लाहकार समितिका सदस्य गिरी, जिल्ला कमिटी सदस्य पुरी, खरेल र कँडेलले विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । बिर्तामोडमा प्रभावशाली मानिने उनीहरुको पार्टी परित्यागबाट आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एसलाई ठुलो क्षति पुग्ने देखिएको छ । 

उनीहरूको समूहले आफूहरुसहित दुई सय ७५ जनाले पार्टी परित्याग गरेको दाबी गरेका छन् ।