विराटनगर / भारतले एक सातादेखि तीन सय भन्दा बढी मालबाहक सवारी रोकेर भारतीय नाका जोगबनीमा नाकाबन्दी गरेको छ । 

भारतको केन्द्रीय भन्सार विभागले भारतबाट निर्यत गरिने एक हजार मालवस्तुमा नयाँ नियम लगाएको भन्दै भारतीय नाका जोगबनीमा नाकाबन्दी गरेको हो ।  

OM Sai Pathibhara Hospital

विभागले भारतबाट एक हजार मालवस्तु आयत गर्दा कम्पनी, उद्योग वा फर्मले एसकोमेट फारम भर्नु पर्ने नियम लगाएको थियो ।

नयाँ नियम लगाएसँगै औद्योगिक र व्यापारिक प्रयोजनका लागि भारतबाट आयात गरिने मालवस्तु बोकेको तीन सय भन्दा बढी मालवाहक सवारी विराटनगरको सीमावर्ती भारतीय नाका जोगबनीमा रोकिदिएको हो । 

भारतले भन्सार संकेत २८, २९, ३०, ३८, ३९, ७०, ७५, ८३, ८४, ८५, ८७ र ९० अङ्कबाट सुरु भएका सबै मालवस्तुमा पनि कडाइ गरेको विराटनगर भन्सार एजेन्ट सङ्घकी अध्यक्ष देवकी शर्माले जानकारी दिइन् ।

शर्माका अनुसार हार्मोनी कोड २८ बाट सुरु हुने मालवस्तुमा विभिन्न रासायनिक पदार्थ, २९ बाट सुरु हुनेमा विभिन्न भिटामिन ओखतीहरू, ३० बाट सुरु हुनेमा उपचारमा प्रयोग गरिने धूलो, मेडिकल केमिकल्स, भ्याक्सिन, इन्सुलिन र पशु भ्याक्सिन लगायतका वस्तु पर्ने छन् । 

त्यस्तै ३८ बाट सुरु हुनेमा टाँस्ने गम, खोटो, रोजिन र टर्पेन्टाइन वर्गका मालवस्तु, ३९ बाट सुरु हुनेमा पिभिसी सेट लगायतका प्लास्टिक सामग्री, ७० बाट सुरु हुनेमा सिसा र सिसाबाट बनेका मालसामान, ७५ बाट सुरु हुनेमा जिंक, निकल, गन्धक लगायतका औद्योगिक सामग्री र ८३ बाट सुरु हुनेमा फलामे झ्यालढोकाका सामग्री पर्दछन्।

अध्यक्ष शर्माले हार्मोनी कोडको अंक ८४ बाट सुरु हुनेमा औद्योगिक मिलमेसिनरी, ८५ बाट सुरु हुनेमा विद्युतीय सामग्री, ८७ बाट सुरु हुनेमा मोटर पार्टस् र ९० बाट सुरु हुनेमा मेडिकल इक्विपमेन्ट पर्ने बताइन् ।