बुटवल / लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणसम्बन्धी बोलपत्र विवादमा मुख्यमन्त्री कुलप्रसाद केसीलाई जोगाउने खेल सुरु भएको छ। मुख्यमन्त्रीलाई जोगाउन खोज्दा छानबिन समिति संयोजक नै विवादमा तानिएका छन्।

करिब डेढ अर्ब अनियमितता हुने गरी आह्वान गरिएको बोलपत्र प्रकरणमा छानबिन गर्न गठित छानबिन समितिले मुख्यमन्त्रीलाई जोगाउने गरी प्रतिवेदन तयार गरेपछि यो प्रकरण रहस्यमय बनेको हो।

OM Sai Pathibhara Hospital

छानबिन समितिका संयोजक मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी बोलपत्र आह्वान सम्बन्धी निर्णयमा आफै हस्ताक्षरकर्ता थिए।

आफू अनुकूल प्रतिवेदन बनाउने गरी मुख्यमन्त्री केसीले सुवेदीलाई छानबिन समितिको संयोजक बनाएपछि त्यति बेलै उनको आलोचना भएको थियो।

छानबिन समितिले प्रदेश पूर्वाधार विकास प्राधिकरणका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेलाई पूर्ण रूपमा दोषी देखाउँदै मुख्यमन्त्रीलाई जोगाउने गरी प्रतिवेदन तयार गरेको हो।

तर, तत्कालीन प्रमुख घिमिरेले भने अनियमितताको साक्षी आफू नबने भन्दै देश र जनतालाई घाटा लाग्ने काम गर्नुभन्दा बाहिर बस्ने भन्दै राजीनामा दिएका थिए।

छानबिन समितिले प्रतिवेदन पेस गरेपछि तत्कालीन प्रमुख कार्यकारी अधिकृत घिमिरेले भने अनियमितता प्रकरणको योजनाकार नै छानबिन समितिको संयोजक रहेको प्रतिक्रिया दिए।

गएको फागुन २ मा बसेको बैठकमा अस्पताल भवनको लागत स्वीकृत गरेर बोलपत्रको मापदण्ड तोक्दै ठेक्का आह्वान गर्ने निर्णय हुँदा सुवेदीले आमन्त्रित सदस्यका रूपमा माइन्यूटमा हस्ताक्षर गरेका छन्।

तर छानबिन समिति संयोजक सुवेदीले भने मुख्यमन्त्रीलाई विवादमा तान्नको लागि तत्कालीन प्रमुख कार्यकारी घिमिरेले बैठकको माईन्युटलाई फेरबदल गर्ने, तिथि मिति सच्याउने काम गरेको पाइएको दाबी गरे। प्रदेश पूर्वाधार विकास प्राधिकरणका अध्यक्ष मुख्यमन्त्री हुने व्यवस्था छ।