झापा / आफ्नै क्षमतामा आसन्न स्थानीय तहको निर्वाचन लड्ने घोषणा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश १ मा सत्तापक्षीय गठबन्धनसँग चुनावी तालमेल गर्ने भएको छ । 

राप्रपाका प्रदेश १ अध्यक्ष राम थापा र गठबन्धनको तर्फबाट माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष शिव कुमार डाँगीबीच प्रदेश १ मा चुनावी तालमेल गर्ने सहमति भएको हो । 

OM Sai Pathibhara Hospital

गठबन्धन दलबीच भागबन्डामा किचलो भइरहेको बेला सुनसरीको इटहरीमा (शुक्रबार) बसेको गठबन्धन दलको बैठकमा प्रदेश १ मा राप्रपाले पनि गठबन्धन दलसँग चुनावी तालमेल गर्ने सहमति भएको हो ।  बैठकमा राप्रपाका तर्फबाट अध्यक्ष थापाको सहभागिता थियो । 

बैठकले प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षमा महिलाको प्रतिनिधित्व सुनिश्चित गराउने, माथिको निर्देशनअनुसार ३ गतेसम्म जिल्लाले टुङ्ग्याएर प्रदेशमा पठाउने, ५ गतेसम्ममा प्रदेशले केन्द्रमा पठाउने निर्णय गरेको छ ।

यसअघि बसेको प्रदेश १ का गठबन्धन चार दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको बैठकले वडा तहसम्मै सहमति गरेर चुनावमा जाने निर्णय गरेका थिए ।

सोही बैठकबाट प्रदेशका प्रमुखहरू रहेको अनुगमन संयन्त्र पनि निर्माण भएको थियो ।अहिले जिल्ला भन्दा तल गठबन्धनको विषयमा छलफल नगर्ने निर्णय भएको माओवादी केन्द्र प्रदेश १ का उपाध्यक्ष डाँगीले बताए । 

त्यस्तै प्रदेश १ मा गठबन्धन दलसँग लोकतान्त्रिक संघीय लिम्बुवान राष्ट्रिय मञ्चले पनि चुनावी तालमेल गर्ने भएको छ ।