बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएपछि अन्य मुलुकले नेपाललाई पश्चिमा ध्रुवमा ढल्किएको भन्दै आएको समयमा अमेरिकाले एमसीसी भन्दा ठूलो अनुदान नेपाललाई दिने भएको छ । पश्चिमा मुलुक तर्फ ढल्केको आरोप खेप्दै आएका प्रधानमन्त्री शेर बहादुर देउवा कै पालामा विवादमा तानिएको एमसीसी समेत पारित भएको केही समयमा नै नेपालले अमेरिकाबाट अनुदान पाउने भएपछि यो विषय चर्चामा आएको हो । 

अमेरिकाले नेपाललाई मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) भन्दा ठूलो अनुदान दिने भएको छ । अमेरिकी सहयोग नियोग (युएसएड)ले ६ सय ५९ मिलियन अमेरिकी डलर (७९ अर्ब ७१ करोड रुपैयाँ) नेपाल सरकारलाई सहयोग गर्ने भएको छ ।  

OM Sai Pathibhara Hospital

अमेरिकाले नेपाल सरकारलाई यो प्रस्ताव राखेसँगै मन्त्रिपरिषद्को चैत ३० को बैठकले सो प्रस्तावलाई स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले बताएका छन् । ५ वर्षका लागि ल्याइएको सो रकम अनुदान भएकाले अमेरिकालाई फिर्ता गर्नु नपर्ने अर्थमन्त्रालयका सहसचिव ईश्वरीप्रसाद कोइरालाले बताएका छन् ।  

लामो समयको गृहकार्यपछि अनुदान स्वीकृत भएसँगै कार्यक्रमलाई आगामी वर्षको बजेटमा समेत समावेश गरिने मन्त्रालयले जनाएको छ । सो रकम विद्यालय निर्माण , कृषि सुधार , शिक्षा, स्वास्थ्य, कृषि, सडक तथा अन्य पूर्वाधारमा खर्च विभिन्न क्षेत्रमा खर्च गरिने समेत मन्त्रालयले जनाएको छ ।  

चीनको अन्तराष्ट्रिय योजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआइ)लाई वेवास्ता गर्दै अगाडि नबढाएर एमसीसी पास गरेपछि छिमेकी मुलुक चिनले पनि नेपाललाई पश्चिमा ध्रुवतर्फ लागेको आरोप लगाउँदै आएको थियो । यही समयमा नेपालमा अमेरिकी योजना नेपालमा धमाधम भित्रिएसँगै नेपालले पाउने भएको यो योजनाले पनि नेपाल पश्चिमा ध्रुवमा रहेको संकेत गरेको छ ।