बिर्तामोड / आसन्न स्थानीय सरकारको निर्वाचनमा सत्तारुढ दलले गठबन्धनलाई निरन्तरता दिने भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता र शक्तिको लालचमा पार्टीको सिद्धान्त र दर्शन विपरित रहेका पार्टीसँग चुनावी तालमेलमा सहकार्य गर्ने भएका छन् । ओलीले पार्टीको मुख्य एजेन्डा र सिद्धान्तलाई लत्याउँदै अग्रपन्थी लोकतन्त्रलाई वैचारिक दर्शन मान्दै आएको क्रिस्टियन धर्म पक्षधर पार्टी नेपाल परिवार दल र हिन्दु राष्ट्र पक्षधर पार्टी राप्रपा नेपालसँग चुनावी गठबन्धन गर्ने भएका हुन् । 

प्रमुख प्रतिपक्षी दल भएकाले गठबन्धन बाट अलग भएको एमालेले फेरी पनि आसन्न निर्वाचनमार्फत सत्तामा आफ्नो हस्तक्षेप जमाउनका लागि पार्टीको दर्शन विपरितका सिद्धान्तलाई अपनाएका पाटीसँग चुनावी गठबन्धन गर्ने भएको छ । बुधबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा दुई पाटीबीच चुनावी तालमेलका विषयमा सहमतिपत्र आदानप्रदान भएको छ । 

OM Sai Pathibhara Hospital

एमालेले राप्रपा नेपालसँग तालमेल गर्दै राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने गरि पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेको छ । विपरित सिद्धान्त र दर्शनका साथ स्थापित भएर फरक धारमा रहेका दुवै पार्टीले चुनावी स्वार्थका लागि आफ्नो शक्ति रहेको ठाँउमा एक अर्कालाई सहयोग गर्दै सहकार्य गर्ने भएका छन् । 

त्यस्तै ,फरक धार र उद्देश्य बोकेको क्रिस्टियन धर्म पक्षधर पार्टी परिवार दलसँग पनि चुनावी स्वार्थ र सत्ता हत्याउनलाई एमाले अध्यक्ष ओली तालमेलका लागि पुगेपछि दुवै दलबीच सहकार्यमा उम्मेदवार उठाउने सहमति भएको छ । एमालेका तर्फबाट स्थानीय विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका तर्फबाट सन्तोषकुमार पौडेलले सहमति पत्रमा हस्ताक्षर गरेपछि पाँच बुँदे सहमति भएको हो । 

एमाले र परिवार दलका जिल्ला कमिटीहरूले आपसमा छलफल गर्ने र तालमेलका सम्बन्ध निर्णय गर्ने, परिवार दलका उम्मेदवारहरूले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि परिवार दलमै आबद्ध रहने सहमति समेत भएको छ ।

चुनावी स्वार्थका लागि पार्टीको सिद्धान्तलाई लत्याउदै पटक पटक विभिन्न फरक धारका पार्टीसँग तालमेल गर्न पल्केको एमालेका लागि क्रिस्टियन धर्म पक्षधर पार्टी नेपाल परिवार दल र हिन्दु राष्ट्र पक्षधर पार्टी राप्रपा नेपालसँगको चुनावी एकता नँया भने हैन । सत्ता र शक्तिको लालचमा पटक पटक विभिन्न पार्टीको ढोका धाउने गरेका ओलीले चुनावको परिणाममा नै प्रभाव पार्नलाई स्वार्थका लागि चुनावी एकता गर्ने गरेका छन् ।