बिर्तामोड / सुरक्षा अंगको ध्यान निर्वाचनमा गएको मौका छोपी तस्करहरू सक्रिय बन्न थालेका छन् ।

प्रहरीले झापामा लगातार ठुलो परिमाणमा भारतबाट ल्याइएका सामग्री बरामद गरेसँगै तस्करको समूहले निर्वाचनमा प्रहरीको ध्यान गएको समयमा मौका छोप्ने गरेको पाइएको छ । 

OM Sai Pathibhara Hospital

मंगलबार साँझ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको २० लाख मूल्य बराबरको बिस्कुट बरामद गरेको थियो ।

प्रहरीले बिस्कुटसहित नेपाल भित्रिँदै गरेको आर जे १८ जी वी ३७२१ नम्बरको भारतीय कन्टेनर र त्यसका चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन् । पाठकका अनुसार कन्टेनर जाँचका क्रममा कागजात नभेटिएपछि चालक शिशराम गोर्सीलाई समेत नियन्त्रणमा लिइएको छ । 

यसैगरी वाईसीएल झापाको टोलीले आज झापाको बिर्तामोडबाट भन्सार छलेर ल्याएको कपडासहित एउटा पिकअप नियन्त्रणमा लिएको छ । वाइसिएलको टोलीले काँकरभिट्टा नाकाबाट भन्सार छलेर ल्याएको कपडा लोड गरिएको को १ ज २४४० नम्बरको पिकअप नियन्त्रणमा लिएको हो ।

बुधबार बिहान ३ बजे बिर्तामोडको भद्रपुर रोडस्थित होन्डा सोरुम नजिकबाट गाडी नियन्त्रणमा लिइएको वाईसीएल झापाका इन्चार्ज कुमार आचार्यले जानकारी दिए । 

आचार्यका अनुसार नियन्त्रणमा लिएको गाडीलाई इलाका प्रहरी कार्यालय अनारमनीको जिम्मा लगाइएको छ । गाडी चालक भने फरार भएका छन् । पक्राउ परेको गाडीमा करिब २० लाख मूल्य बराबरको सामान रहेको बताइएको छ । कपडा तस्करीमा तस्करको समूहले भारतीय कारको प्रयोग गरेको समेत खुलेको छ । 

डब्लुबी ७४ पी १४५५ नम्बरको निलो सुजुकी कारले स्कर्टिङ गरेर कपडा ढुवानी गरिरहेको अवस्थामा सो कार पनि वाइसिएलले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको छ । 

वाइसिएलको समूहले घेरा हाले पछि कपडा ढुवानीमा संलग्न चालक र क्यारियर फरार भएको आचार्यले बताए । नियन्त्रणमा लिएको गाडीसँगै रहेको अर्को अल्फाबेट नखुलेको ३६०० नम्बरको पिकअप भने त्यहाँबाट भागेको वाईसीएल बिर्तामोड नगर अध्यक्ष सुदीप खवासले बताए । इलाका प्रहरी कार्यालय अनारमनीले बरामद भएको सामान र उक्त गाडी राजश्व अनुसन्धान कार्यालय इटहरीमा पठाएको बताइएको छ । 

दुई हप्ता अघिमात्रै राजश्व अनुसन्धान विभागबाट तस्करी नियन्त्रणका लागि खटिएको टोलीले भारतबाट तस्करी भई आएको लत्ताकपडा गोदाम गरी राखेको सूचनाका आधारमा बिर्तामोडको शाह कपडा पसलमा छामा मारेको थियो । 

विभागले एक महिना अघि झापाकै काकडभिट्टा स्थित मेचि भन्सार कार्यालयबाट भन्सार एजेन्ट र कर्मचारीको मिलेमतोमा न्यून भन्सार मुल्याङ्कन गरी आयात भएको दुई कन्टेनर जुत्ता चप्पल नियन्त्रणमा लिएर यतिवेला अनुसन्धान गरिरहेको छ । मेचि भन्सारबाट विभागले गत चैत्र ८ गते ना ६ ख ५८३ र प्रदेश १ – ०२००१ ख ९५२७ नम्वरका गाडी नियन्त्रणमा लिएको थियो ।

त्यस्तै एकसाता अघि भारतीय सिमाक्षेत्रबाट अवैध रुपमा भित्रिएको कपडा सहित राजश्व अनुसन्धान विभागको सूचनाका आधारमा उर्लाबारीबाट प्रहरीले एउटा गाडी नियन्त्रणमा लिएको थियो । उर्लाबारीबाट नियन्त्रणमा लिएको गाडी र पक्राउ परेकाको बयानमा बिर्तामोड स्थित साह कपडा पसल जोडिएको थियो । 

त्यसैगरि केही अघि ईलामबाट झापाको बिर्तामोड स्थित एक औषधी व्यवासायीले अवैध रुपमा भित्राएको करिव ८० लाख मूल्य बराबरको औषधी पनि विभागलाई प्राप्त भएको सुचनाकै आधारमा प्रहरीले बरामद गरेको थियो । ठूलो परिमाणमा भएको औषधी बरामदमा संलग्न व्यवसायीलाई भने स्थानीय प्रहरीले जोगाउने कोशिस गरेको आरोप लागेको छ । 

स्थानीय प्रहरीले बरामद सामान औषधी व्यवस्था विभागको जिम्मा लगाउने क्रममा पनि ढुवानी गर्ने व्यक्ति मात्रै उल्लेख गरेर पेस गरेकाले  मूख्य आयातकर्ता व्यवसायी भने कानुनी कारवाहीमा तानिएका छैनन् । सो समयमा प्रहरीले नियन्त्रणमा लिएको सवारी चालक र बरामद सामान मात्रै विभागको जिम्मा लगाईएको थियो ।