मोरङ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै दिन सुनसरीका प्रधानाध्यापकदेखि तरहरास्थित क्षेत्रीय कृषि अनुसन्धानका प्रमुखसहित १४ जनाविरुद्ध मुद्दा विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगले बंगुर बिक्री गर्दा हुनुपर्ने औसत र न्यूनतम तौलभन्दा कम देखाई बिक्री गरेर सात लाख हिनामिना गर्ने क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, तरहरा सुनसरीका तत्कालीन बंगुर अनुसन्धान इकाई प्रमुख वरिष्ठ वैज्ञानिक (अवकाशप्राप्त) रामदेव पण्डितसहित सात जना विरुद्ध मुद्दा दायर गरेको हो ।

OM Sai Pathibhara Hospital

त्यस्तै आयोगले प्राविधिक अधिकृत शकुन्तला राई, प्राविधिक सहायक प्रकाशकुमार यादव, वरिष्ठ वैज्ञानिक निर्देशक हरिकृष्ण श्रेष्ठ, तत्कालीन लेखा अधिकृत सोभितलाल यादव, लेखा अधिकृत तिलक राजवंशी र प्रशासकीय अधिकृत कृष्णप्रसाद पोखरेलविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

आयोगले बंगुर अनुसन्धान एकाइमा इकाइ प्रमुख पण्डित, राई र यादवको बंगुर बेच्न प्रयोग हुने कुलिङ कार्डमा हस्ताक्षर गरेको र यादव, राजवंशी, पोखरेल र श्रेष्ठको मिलेमतोमा बंगुुर बिक्री गर्दा हुनुपर्ने औसत र न्यूनतम तौलभन्दा पनि कम तौल देखाइ अनियमितता गरेको पाइएपछि भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । 

उनीहरूले त्यसरी बिक्री गर्दा ७ लाख रुपैयाँ हिनामिना गरेको पाइएको आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

आयोगले दायर गरेको मुद्धामा अनियमिततामा संलग्न पण्डित र पोखरेलसँग जनही ७ लाख बिगो दाबीसहित असुलउपर गर्न माग गरेको छ । 

त्यस्तै, राईसँग ६ लाख ३१ हजार २ सय, यादवसँग ३ लाख ३८ हजार २ सय ४०, श्रेष्ठसँग ३ लाख ५२ हजार ४ सय ८० रुपैयाँ तत्कालीन लेखा अधिकृत यादवसँग ३ लाख १८ हजार ७ सय ८० र राजवंशीसँग ३ लाख १० हजार २ सय ४० रुपैयाँ असुलउपर गरी पाउन आयोगले मागदाबी गरेको छ । 

यसैगरी, जिल्ला शिक्षा कार्यालयको लेटरप्याड, छाप तथा दस्तखत किर्ते तथा हेरफेर र बैंकको दस्तखत नमुना कार्ड परिवर्तन गरी विद्यालयको विभिन्न शीर्षकका रकम हिनामिना गर्ने प्रधानाध्यापक, शिक्षक र बैंकका कर्मचारीविरुद्ध पनि आयोगले मुद्दा दर्ता गरेको छ। 

आयोगले सुनसरीको चपडाही निम्नमाध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक (हालः अवकाशप्राप्त) सिद्धिनाथलाल दास, साविक बबिया गाविस –९ को महावीर प्राथमिक विद्यालयका तत्कालीन राहत शिक्षक एवं प्रधानाध्यापक (हालः सेवामा नरहेको) र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, शाखा कार्यालय, इनरुवा, सुनसरीका सहायक प्रबन्धक (हाल निलम्बित) तारणीप्रसाद खतिवडा विरुद्ध मुद्दा दायर गरेको हो । 

उनीहरूविरुद्ध पाँच लाख ६० हजार रुपैयाँ हिनामिना गरेको आरोप छ ।

यस्तै, गैरकानुनी तरिकाले सिम्बोल नम्बर र रजिस्ट्रेसन नम्बरसहित कन्ट्रोल लिस्ट सच्याउने तथा थपघट गर्ने गरेर आफ्नै छोरालाई पास गराउन खोज्ने जुम्लाको चन्दननाथ माविका तत्कालीन शिक्षक कलानन्द माझीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।

माझीसँग मिलेमतोमा एकै सिम्बोल नम्बर र रजिस्ट्रेसन नम्बरमा दुईजना उल्लेख भएको कन्ट्रोल लिस्ट बनाएर कलानन्दका छोरा शेखर माझीका नाममा अर्कैलाई परीक्षा दिन लगाउने काममा भूमिका खेल्ने केन्द्राध्यक्ष मिनराज शर्मा, आफूले दिनुपर्ने परीक्षामा सहभागी नभई आफ्नो सिम्बोल नम्बरमा प्रभात शाहीका नाम उल्लेख गर्ने बाबु कलानन्दको कसुरमा सहभागी भएको कसुरमा शेखर माझी र सट्टामा परीक्षा दिने शाहीविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।