बिर्तामोड / बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे दुबई (युएई) बाट अरबौँ रुपैयाँ शंकास्पद कालोधन ल्याउने धन्दामा संलग्न रहेको खुलासा भएको छ ।

मुख्यमन्त्री पाण्डे अध्यक्ष रहेको नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले दुबइको युनिक कन्सल्ट लिमिटेडबाट ६९ अर्ब २१ करोड रुपैयाँ भन्दा बढी रकम नेपाल भित्र्याउन विवादास्पद सम्झौता गरेको खुलासा भएको हो ।  

OM Sai Pathibhara Hospital

‘अन्डरवर्ल्ड डन’ भनेर चिनिने दाउद ईब्राहिमको स्वामित्व रहेको युनिक कन्सल्टबाट पाण्डेले नेपाल स्वास्थ्य सेवा सहकारीका लागि  ६९ अर्ब २१ करोड रुपैयाँ भन्दा बढी रकम ल्याउने सम्झौता भएको फेला परेको हो ।

सन् २०२० सेप्टेम्बर १४ मा गरिएको उक्त सम्झौतामा सहकारीका तर्फबाट पाण्डेले हस्ताक्षर गरेका छन् भने युनिक कन्सल्टको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्क एन्ड्रे जीले हस्ताक्षर गरेका छन् । 

सम्झौतामा हस्ताक्षर गर्ने कम्पनीको सिइओको पासपोर्ट भने बेल्जियमबाट जारी भएको बताइएको छ ।

उक्त कालो धन ओसार पसारमा नेपाल राष्ट्र बैकबाट ‘क’ बर्गको मान्यता प्राप्त लक्ष्मी बैँकको पनि संलग्नता रहेको खुलेको छ । उक्त रकम दुबईको अवुधावीमा मुख्यालय रहेको मशरेक बैंकबाट नेपालस्थित लक्ष्मी बैंक मार्फत नेपाल भित्र्याउने सम्झौतामा उल्लेख छ । सम्झौतामा बैंकका कर्मचारीको नाम र लक्ष्मी बैंककै स्विफ्ट कोड समेत प्रयोग गरिएको छ ।

पाण्डेले रकम ल्याउने सम्झौतामा हस्ताक्षर गरेको दुबईस्थित मशरेक बैंकमाथि अमेरिकाको न्युओर्कस्थित स्टेट डिपार्टमेन्ट अफ फाइनान्सियल सर्विसेज (डिएफएस)ले कारबाही गरेको थियो ।  

कतार, बहराइन, कुवेत, बेलायत, न्युओर्क, हङकङ र मुम्बईमा शाखा कार्यालय रहेको मशरेक बैंकमा अन्तर्राष्ट्रिय आतङ्कवादी समुहको लगानी रहेको पाइएको छ ।

को हुन् दाउद इब्राहिम ? 

‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिम भारतीय प्रहरीको मोस्ट वान्टेड लिस्टमा रहेका डन हुन् ।

सन् १९९४ मा देखि उनी प्रहरीको मोस्ट वान्टेड सुचीमा रहेका छन् । अमेरिकाले समेत दाउद इब्राहिमलाई विश्वस्तरीय आतङ्कवादीहरूको सूचीमा राखेको छ ।

दाउद सन् १९९३ मा मुम्बईमा भएको शृंखलाबद्ध बम विस्फोटनका योजनाकार  ‘डी कम्पनी’ का मुख्य नाइके हुन् । बम आक्रमणमा झण्डै २६० जना मारिएका थिए भने सात सय जना घाइते भएका थिए ।

पाकिस्तान र दुबईमा लुकेर बस्दै आइरहेको चर्चा बेलाबेलामा चलिरहन्छ । उनको क्यारेक्टरलाई नै लिएर बलिउडमा धेरै फिल्महरू समेत  बनेका छन् ।

भारत र अमेरिकाले सन् २००३ मा दाउदलाई पकड्ने व्यक्तिलाई दुई अर्ब ५० लाख (२५ मिलियन अमेरीकी डलर) दिने घोषणा समेत गरेका थिए ।  

दाउदको जन्म २७ डिसेम्बर १९५५ मा महाराष्ट्रको रत्नगिरी मा भएको थियो । उनका तीन जना छोराछोरी छन् जसमा दुई जना छोरी र एक जना छोरा रहेका छन् ।

दाऊद इब्राहिमकी पत्नी जुबाना जरीनलाई महजम्बी शेख भनेर चिनिन्छ । यद्यपि जुबीनाको बारेमा कमै मानिसलाई थाहा छ । उनको तस्बिर पनि निकै कम देखिन्छन् । तर जुबीना भिन्डी बजार मुम्बईमा बस्ने गर्छिन् । 

मुम्बईको यहि ठाउँमा दाऊदले आफ्नो बाल्यकाल बिताएका थिए । दाऊदका पिताका भाइ सलीम कश्मीरी आजसम्म पनि यहि इलाकामा बस्दै आएका छन् ।