धनुषा / घुस काण्डमा मुछिएका धनुषाको बटेश्वर गाउँपालिका अध्यक्षलाई नेकपा एमालेले पुनः गाउँपालिकाकाे उम्मेदवार बनाउने भएको छ । 

२०७४ मा गाउँपालिका अध्यक्ष भएका डम्बरबहादुर राउतलाई एमालेले आसन्न स्थानीय तहको चुनावमा पनि गाउँपालिका अध्यक्षकाे उम्मेदवार बनाउने भएको हो।

OM Sai Pathibhara Hospital

गाउँपालिका अध्यक्ष रहेका राउतले २०७७ फागुन १७ मा गाउँपालिका कार्यालयको प्रशासनिक भवन निर्माणको भुक्तानी दिएबापत ठेकेदारसँग आठ लाख रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोप छ।

महेन्द्रनगरमा ठेकेदारबाट लिएको घुस रकम लिएर घर फर्कँदै गर्दा अख्तियारको टोलीले पछ्याएपछि उनी बाटैमा पैसा फालेर भागेका थिए। 

केही रकम भने अध्यक्ष राउतको सवार सरकारी गाडीबाट बरामद भएको थियो। अख्तियारको टोलीले घुस रकमसहित अध्यक्ष चढेको गाडीका चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिए पनि अध्यक्ष राउत फरार भएका थिए।

राउतविरुद्ध राजनीतिक दबाबले गर्दा अख्तियारले मुद्दा थप अगाडि नबढाएको आरोप पनि छ। उनी रघुवीर महासेठ निकट छन्।