काठमाडौं / विदेशी विनिमय सञ्चिति घट्दै गएको समयमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अर्थतन्त्रमा सुधार ल्याउनका लागि गैरआवासीय नेपालीसँग अन्तरक्रिया गर्ने भएको छ । सोमबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को आकस्मिक बैठकले देशमा आउन सक्ने आर्थिक संकट समाधान गर्न सरकारी अधिकारीको सहभागितामा अन्तरक्रिया गर्ने भएको हो ।  

संघका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षता तथा अध्यक्षद्वय बद्री केसी र रविना थापाको उपस्थितिमा  देशमा आउन सक्ने आर्थिक संकट समाधान गर्न सरकारसँग हातेमालो गर्ने निर्णय गरेको प्रवक्ता शिव बरुवालले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

बैठकले विदेशी मुद्राको सञ्चिति घट्दै गएको अवस्थालाई समाधान गर्न अर्थमन्त्री, अर्थसचिव, राष्ट्र बैंकका अधिकारी र अर्थविद्लगायतको उपस्थितिमा बुधबार वृहत अन्तरक्रिया गर्ने निर्णय गरेको हो । कार्यक्रममार्फत विदेशमा रहेका सबै गैरआवासीय नेपालीलाई नेपालका कुनै पनि बैंकमा डलर खाता खोल्न अनुरोध गर्ने र उक्त खातामा कम्तीमा एक हजार डलर पठाउन अनुरोध गर्ने भएका छन् ।

बैठकले विदेशबाट अनलाइनमार्फत डलर खाता खोल्दा, डलर पठाउँदा, सो खातामा बचतमा राख्दा र आवश्यक परेका बेला उक्त रकम निकाल्दा आउने समस्याका विषयमा अध्ययन गरेर समाधान गर्न सरकारलाई सुझाव दिने भएका छन् । सुझाव दिनका लागि संघका सबै उपाध्यक्ष सदस्य रहने गरि उपाध्यक्ष भूषण घिमिरेको नेतृत्वमा कार्यदल गठन गर्ने समेत निर्णय गरेको छ । 

महासचिवद्वय गौरी जोशी र डा। केशव पौडेलको नेतृत्वमा सम्पूर्ण उपमहासचिव, सचिव रहने प्रचारप्रसार समिति गठन गरेको समेत प्रवक्ता बरुवालले जानकारी दिएका छन् । संघले कोषाध्यक्षको नेतृत्वमा सबै सहकोषाध्यक्ष सदस्य रहने गरी डलर खाता खोल्नको लागि चाहिने कागजपत्र, प्रक्रिया र आर्थिक पक्षको अध्ययन गरी डलर खाता खोल्न सहजीकरण गर्ने निर्णय गरेको छ।