बिर्तामोड / फागुनमा अर्थतन्त्रको मेरुदण्ड रहेको रेमिट्यान्स उल्लेख्य बढेसँगै रेमिट्यान्स आप्रवाह दर पनि गत वर्षकै हाराहारीमा पुगेपछि अर्थतन्त्रमा सुधार आउन सक्ने संकेत देखिएको छ । आयातमा आधारित नेपाली अर्थतन्त्रका लागि व्यापार फाइनान्समा महत्वपूर्ण योगदान रहेको रेमिट्यान्समार्फत फागुन महिनामा मात्रै ९१ अर्ब ६ करोड ९८ लाख रुपैयाँ भित्रिएपछि अर्थतन्त्रमा सुधार आउन सक्ने आश पलाएको हो । 

नेपाल राष्ट्र बैंकका अनुसार फागुनसम्म अर्थात् चालु आर्थिक वर्ष २०७८/७९ को फागुन महिनासम्म ६ खर्ब ३१ अर्ब १८ करोड ९९ लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । माघसम्मको मासिक औसत ७७ अर्ब १६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो भने माघसम्म अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स झन्डै ५ प्रतिशतले घटेको थियो । 

OM Sai Pathibhara Hospital

फागुन मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह १ दशमलव ७ प्रतिशतले मात्र कम रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मासिक औसत रेमिट्यान्ससँग १३ देखि १५ अर्ब रुपैयाँको खाडल देखिएको र त्यसलाई समेत आकर्षण गरी विभिन्न उपाय मार्फत् रेमिट्यान्स बढाउन प्रयास भैरहेको अर्थसचिव मधुकुमार मरासिनीले बताएका छन् । 

मरासिनीले अहिलेसम्म मासिक रूपमा सबैभन्दा बढी रेमिट्यान्स कोभिड–१९ को समयमा १०० अर्ब रुपैयाँ भित्रिएको भएपनि मासिक ९० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिनु सन्तोषजनक रहेको समेत बताएका छन् ।