विर्तामोड / तरलता अभाव र विदेशी विनिमय सञ्चिति घटिरहेका कारण व्यापार घाटा खेपीरहेको अर्थतन्त्रमा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा आयात , निर्यात र व्यापार घाटा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको वित्तीय स्थिति सम्बन्धी समीक्षा रिपोर्टमा चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा मात्रै आयात ३८.६ प्रतिशत र निर्यात ८२.९ प्रतिशतले बढेको देखिएको हो ।

चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा कुल वस्तु निर्यात ८२.९ प्रतिशतले वृद्धि भई रु १४७ अर्ब ७५ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा निर्यात ७.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ निर्यात क्रमशः १०४.२ प्रतिशत र २९.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात ११.० प्रतिशतले घटेको छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै चालु आर्थिक वर्ष कै आठ महिनामा कुल वस्तु आयात ३८.६ प्रतिशतले वृद्धि भई रु १३०८ अर्ब ७३ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा आयात २.१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २८.१ , ३६.७  र ७५.४ प्रतिशतले वृद्धि भएको छ । 

कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातको वृद्धि भएको छ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा कुल वस्तु व्यापार घाटा ३४.५ प्रतिशतले वृद्धि भई रु ११६० अर्ब ९९ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १।६ प्रतिशतले बढेको थियो । 

अघिल्लो वर्षको सोही अवधिमा आयात अनुपात ८.६ प्रतिशत रहेको थियो भने चालु आर्थिक वर्षमा आयात अनुपात ११.३ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख गरिएको छ ।  समीक्षा अवधिमा भारतबाट परिवत्‌र्य विदेशी मुद्रा भुक्तानी गरी रु १४७ अर्ब ३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु १२१ अर्ब ३६ करोड बराबरको भएको थियो ।

पाम तेल, सोयाबिन तेल, पिना, धागो,  ऊनी गलैँचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जडीबुटी, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ ।