बिर्तामोड / नेकपा एमाले अध्यक्ष केपी शर्मा आली नेतृत्वको सरकारको पालामा कानुनको उलङ्घन गर्दै भएका भ्रष्टाचार , राजनितिकरणको आधारमा गरिएका नियुक्ति र आपराधिक गतिविधि सार्वजनिक हुने क्रम अझै सकिएको छैन । एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएसँगै ओलीका पालामा भएका बेथिति र कानुन उलङ्घनका नयाँ घटना हरेक दिन सार्वजनिक हुने क्रम जारी नै रहेको छ ।   

संघीय सरकारको नेतृत्वमा रहेको समयमा ओलीले नियुक्त भएका गभर्नर महाप्रसाद अधिकारीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको निलम्बनको विषय अहिले चर्चामा आएको छ । तत्कालीन प्रधानमन्त्री ओलीले कानुनमा गरिएको व्यवस्थालाई नजरअन्दाज गर्दै कानुन लत्याएर गभर्नर नियुक्ति गरेको विषय अहिले पेचिलो बन्दै गएको छ ।  

OM Sai Pathibhara Hospital

राष्ट्र बैंक ऐन २०५८ को दफा २० को ग अनुसार राष्ट्र बैंकको गभर्नर हुन आर्थिक, मौद्रिक, बैंकिङ, वित्तिय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर हु्नुपर्ने व्यवस्था गरिएको छ ।   तर गभर्नर नियुक्तिका लागि ओलीको पालामा तत्कालीन अर्थमन्त्री युवराज खतिवडा, पूर्वसचिव कृष्णहरि बाँस्कोटाको संलग्नतामा गठन भएको समितिले च्याटर एकाउन्टको ट्रेनिङ कोर्स मात्र गरेका अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो ।  

कानुनी व्यवस्था अनुसार शैक्षिक योग्यता नै नभएका अधिकारीलाई गभर्नरमा नियुक्ति गरेको ओली सरकारले गरेको कानुन उलङ्घनको यो विषय नयाँ भने होइन । कानुन बनाएर त्यसको कार्यान्वयन गर्ने गराउने दायित्व बोकेको सरकारले ओली नेतृत्वमा रहेका समयमा पटक पटक त्यही कानुनलाई लत्याउदै आएको विषय सार्वजनिक हुन थालेका छन् । त्यस्तै , सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई भीएलएन काण्डमा संलग्न रहेकै कारण  छानविन गर्न सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेको तथ्य समेत बाहिरिएको छ । 

ओली सरकारको पालामा तत्कालीन डेपुटी गभर्नर रहेका गभर्नर अधिकारी भीएलएन नेपालले मलेसिया पठाउनु पर्ने ६ अर्ब ५० करोड रुपैयाँ राजश्व छली गरेर हङकङ पठाएको घटनामा संलग्न रहेकै कारण निलम्बित भएका हुन् । भीएलएन नेपालले मलेसिया पठाउनुपर्ने उक्त रकम करमुक्त रहेको क्षेत्र हङकङमा पठाएर कानुनको उलघंन गरेको घटनामा अधिकारीसहित २८ जना कारबाहीको भागिदार बन्नुपर्ने अवस्था देखिएको छ । 

त्यसतै, ओली नेतृत्व कै पालामा नेपालकी चर्चित गायिका आनी छोइङले हङकङमा गीत गाएरै कमाएको रकम नेपाल ल्याउन खोज्दा नेपाल राष्ट्र बैंकले ५ करोड ५० लाख रुपैयाँ घुस मागेको विषय पनि चर्चामा आएको थियो । आनीले कमाएको करिब १८ करोड रकम रोक्का गर्नुपर्ने कारण नरहेको भन्दै सम्पत्ति शुद्धिकरण विभागले राष्ट्र बैंकलाई पत्राचार नै गरेको भएपनि बैंकका तत्कालीन डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले फाइल नै लुकाएर राखिदिएका थिए । 

राष्ट्र बैंकका उच्च अधिकारीले बार्गेनिङ गरेर रकम भित्रिन नदिएपछि घुस दिनु भन्दा असहाय र बेसहारालाई सहयोग गर्छु भन्दै आनीले ओली सरकार कै पालामा यो विषय सार्वजनिक गरेकी थिइन् । 

त्यति मात्र नभएर राष्ट्र बैंकका उच्च अधिकारीले गायिका डोल्माको निवासमा पटक पटक विचौलिया पठाउने गरेको समेत आनीले बताएकी थिइन् । ओली नेतृत्वको सरकारका पालामा घटेका यस्ता बेथिति , भ्रष्टाचार र आपराधिक गतिविधि समय र सन्दर्भ अनुकुल सार्वजनिक हने विषय नयाँ भने होइन । तर पटक पटक सत्तामा पुगेर शक्तिको दुरुपयोग गर्न पल्केका नेतालाई समयमा चिन्न सके मात्र देश आर्थिक तथा सामाजिक पाटोबाट पनि समृद्धि तर्फ लम्किन सक्नेछ ।