इटहरी / सत्ता गठबन्धन भित्र आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति भए पनि दलहरूले आ–आफ्नो प्रभाव रहेको क्षेत्रमा उम्मेद्वार अघि सारे पछि भागबन्डाको विषय मिल्न सकेको छैन ।

चुनावी तालमेलको मोडालिटी चैत २६ गते सम्ममा तय गर्ने सहमति भएपनि गठबन्धनभित्र कांग्रेस र माओवादीबाट आफूले जितेको स्थान नछोड्ने र एमालेले जितेको ठाउँमा भागबन्डा गर्ने कुरा आएपछि भागबन्डाको विषय मिल्न नसकेको हो ।  

OM Sai Pathibhara Hospital

गठबन्धन भित्र भागबन्डाको चर्चा चलिरहेको बेला कांग्रेसका नेताहरूले गठबन्धनलाई स्वीकार गरे पनि इटहरी उपमहानगरपालिकाको मेयर र उपमेय नछाड्ने बताउँदै आएका छन् ।  

उपमहानगर समितिको बैठकको क्रममा नेताहरूले गठबन्धनलाई स्वीकार गरे पनि मेयर उपमेयर नछाड्ने बताए हुन् । 

इटहरी उपमहानगरको मेयरमा कांग्रेसका नगर सभापति हेमकर्ण पौडेलसहित २०७४ को मेयरका उम्मेदवार रोहित प्रसाईँ, विकास केसी, भीम बहादुर पौडेल, सूर्य राई, रामरोहन चौधरी, नागेश चन्द्र राई, विष्णु बहादुर डाँगी र कल्पना चौधरीले दाबेदारी प्रस्तुत गरेका छन् ।

त्यस्तै उपमेयरमा अघिल्लो निर्वाचनकी उम्मेदवार विमला ढकाल सहित उर्मिला चौधरी, बबिता चौधरी, निर्मला चौधरी, गीता श्रेष्ठ, कौशिला सुनुवार चौधरी, सुशीला लेखी, सुशीला चौधरी, रूपा कार्की, मेनुका गिरि, शिला गजमेरले उम्मेदवारी प्रस्तुत गरेका छन् । 

मेयर उपमेयरका आकाङ्क्षी लगायत नेताहरूले वडा स्तरमा मात्र गठबन्धनका दलहरूलाई भाग दिन सकिने बताएका छन् । कमजोर जनाधार भएका पार्टीले ठुलो भाग माग्दा गठबन्धन प्रभावकारी नहुने उनीहरूको तर्क छ । 

काँग्रेस आफै चुनाव जित्न सक्षम भएको बताउँदै नेपाली काँग्रेस केन्द्रीय सदस्य राजीव ढुङ्गानाले यस पटक चुनावमा अन्तर्घात गर्ने र असहयोग गर्ने नेता तथा कार्यकर्तालाई तत्काल पार्टी सदस्यताबाट निष्कासित गरिने बताएका छन् ।