बिर्तामोड / सत्ता गठबन्धनभित्र स्थानीय तहको चुनावमा तालमेल गर्ने सहमति भएपनि दलहरूले आ–आफ्नो तर्फबाट उम्मेद्वार अघि सारे पछि भागबन्डाको विषय मिल्न सकेको छैन ।

चुनावी तालमेलको मोडालिटी चैत २६ गते सम्ममा तय गर्ने सहमति भएपनि गठबन्धनभित्र कांग्रेस र माओवादीबाट आफूले जितेको स्थान नछोड्ने र एमालेले जितेको ठाउँमा भागबन्डा गर्ने कुरा आएपछि भागबन्डाको विषय मिल्न नसकेको हो ।  

OM Sai Pathibhara Hospital

तालमेलको मोडालिटी तयार गर्न गठबन्धन दलले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन परिचालन तथा अनुगमन समिति बनाएका थियो । समितिले गृहकार्य गरिरहे पनि स्थानीय तहबाट पाँच दलीय संयन्त्रको प्रतिवेदन आउन अझै बाँकी रहेको छ ।  

महानगर र उपमहानगरमा तालमेल केन्द्रबाटै गर्ने तयारीमा रहेका दलहरूले छ महानगर र ११ उपमहानगरमा आआफ्नै दाबी पेस गरिरहेका छन् । कुन महानगर र उपमहानगरमाको उम्मेद्वार बन्ने भन्ने विषयमा अहिले गठबन्धन भित्र बहस भइरहेको छ ।

२०७४ सालको स्थानीय तह चुनावमा कांग्रेसले ललितपुर र विराटनगर महानगरपालिका र धरान, कलैया र धनगढी उपमहानगरपालिकामा जित हासिल गरेको थियो ।

एमालेले काठमाडौँ र पोखरा महानगरपालिकामा र इटहरी, हेटौँडा, बुटवल, तुलसीपुर, घोराही र जितपुर उपमहानगरपालिकामा जित हासिल गरेको थियो भने माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा जितेको थियो ।

छ महानगरपालिका मध्ये २ र ११ उपमहानगर मध्ये तीनमा जित हासिल गरेको कांग्रेसले आफूले जितेको स्थान अरुलाई नदिने बताउँदै आएको छ ।  

एमालेले दुई महानगर र छ वटा उपमहानगर जितेको थियो । एमालेबाट फुटेर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा दाबी गरिरहेको छ भने एमालेले जितेका स्थानमा आफ्नो बलियो दाबी रहने बताउँदै अाएको छ ।

कांग्रेसको सहयोगमा भरतपुर उपमहानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहालले जितेकी थिइन् । आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले भरतपुर महानगरमा दाबी गरे पनि माओवादी केन्द्रले पनि भरतपुर महानगरको मेयर नछाड्ने बताउँदै आइरहेको छ ।

२०७४ को निर्वाचनमा एउटा पनि महानगर नजितेको माओवादी केन्द्रले यसपटकको निर्वाचनमा दुई वटा महानगर र चार वटा उपमहानगरमा दाबी गरिरहेको छ ।

त्यस्तै जनता समाजवादीले २०७४ काे निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा जितेको थियो । समाजवादीले पनि वीरगञ्ज महानगर र जनकपुर उपमहानगरमा दाबी गरिरहेको छ ।  

यता, लोकतान्त्रिक समाजवादी पार्टी पनि सत्ता गठबन्धनमा आउने तयारीमा छ । गठबन्धनमा आएको स्थितिमा मधेस प्रदेशको वीरगञ्ज महानगर र उपमहानगरमा दाबी गर्ने तयारीमा छ ।

सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले भने बागलुङ नगरपालिका र प्यूठान नगरपालिकामा दाबी गरेकाे छ ।