धनगढी / गठबन्धनका दलहरूबीच भएको सहमतिलाई लत्याउदै जनता समाजवादी पार्टी (जसपा) सुदूरपश्चिममा गठबन्धनबाट बाहिरिएको छ । 

नेपाली कांग्रेसलाई मात्र सरकारमा सहभागी गराएर आफ्नो अपमान गरेको भन्दै शनिबार धनगढीमा एक पत्रकार सम्मेलनमार्फत जसपाले गठबन्धनबाट बाहिरिने घोषणा गरेको हो । 

OM Sai Pathibhara Hospital

केन्द्रले पाँच दलीय गठबन्धन प्रदेश तथा स्थानीय स्तरमा विस्तार गर्दै अगाडि बढ्ने निर्देशन दिएपनि जसपालाई पछाडि पार्दै अन्य दल अगाडि बढेपछि गठबन्धनबाट बाहिरिएको जसपा सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरीले बताएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले कुनै जानकारी नै नदिई कांग्रेसलाई सरकारमा सहभागी गराएपछि कुनै दलसँग पनि गठबन्धन नगर्ने भएको थियो ।

स्थानीय तह निर्वाचनका लागि एक्लै लड्न सक्ने दाबी गरेको जसपा आवश्यकता अनुसार अन्य पार्टीसँग मिलेर अगाडि बढ्न तयार रहेको समेत चौधरीले बताएका छन् ।

सुदूरपश्चिम प्रदेश सभामा समाजवादीका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेपाली कांग्रेसका १२, नेकपा (एमाले)का १० र जनता समाजवादी पार्टीका २ जना सांसद रहेका छन् । .