बिर्तामोड / आसन्न स्थानीय निकायको निर्वाचनमा काठमाण्डौ महानगरपालिकाको मेयर उमेद्धारका रुपमा चर्चामा रहेका अभिनेता भुवन केसीले आफू उमेद्धार नहुने घोषणा गरेका छन् ।

केही दिन अघि उन्नत लोकतन्त्र पार्टीबाट महानगरको मेयरका रुपमा चर्चामा आएका उनले सामाजिक सञ्जाल प्रयोग गरी आफू उमेद्धार बन्न असमर्थ रहेको बताएका हुन् । उनले आफूलाई मेयर बनाउने सो पार्टीको निर्णय भने साहसिक कदम भएको जनाएका छन् ।

केसीले कलाकारले मेयर बनेर जनताको सेवा गर्छु भन्नु स्वाभाविक भएको भएपनि कार्यव्यस्तता र प्राविधिक विषयका कारण आफू अहिले उमेद्धार बन्न नसक्ने उल्लेख गरेका छन् ।

निर्वाचनको घोषणा भएपछि आफ्नै धेरै राजनीतिक दलसँग निर्वाचनका विषयमा छलफल भएको र सो क्रममा स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीसँग पनि छलफल भएको तर ठोस निर्णय नभएको समेत दावी गरेका छन् । सो पार्टीले उमेद्धार भनेर प्रचार थालेको एकसाता पछि मात्रै अभिनेता केसीले सो कुराको खण्डन गर्दै आफू पछि हटेका हुन् ।

उनले आफू कुनैपनि राजनीतिक दलमा आवद्ध नरहेको स्पष्ट पार्दै आसन्न चुनावमा उन्नत लोकतन्त्र पार्टीप्रति भने आफ्नो नैतिक समर्थन रहने बताएका छन् ।