बिर्तामोड / अन्तराष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका कारण व्यापार घाटा खेपीरहेको समयमा अर्थतन्त्रमा सुधार ल्याउन सरकारले दुई दिन सार्वजनिक बिदा दिन गृहकार्य थालेको छ । दैनिक बढ्दै गरेको आयात धान्नै नसक्ने स्थितिमा पुगेपछि अर्थतन्त्रमा सुधार ल्याउन राष्ट्र बैंकले पठाएको प्रस्ताव स्विकार्दै मन्त्रिपरिषद्को बैठकले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

सरकारले बिदाको निर्णय गरेपनि आन्तरिक तयारी नपुगेकाले सो निर्णय औपचारिक रुपमा सार्वजनिक भने गरेको छैन । विलासी बस्तुको आयात बढेकाले विदेशी मुद्रा सञ्चिति घटेपछि नेपाल राष्ट्र बैंकले सवारीसाधन र सुन तथा चाँदी सहित ३०० भन्दा वढी बस्तुको आयातमा रोक लगाइसकेको छ । 

OM Sai Pathibhara Hospital

इन्धन आपुर्ति घटाएर सञ्चित मुद्रा जोगाउनका लागि राष्ट्र बैंकले यातायातमा जोरविजोर प्रणाली , सातामा दुई दिन छुट्टी दिने जस्ता प्रस्ताव  मन्त्रिपरिषद्‌मा पठाएको थियो । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका सबै निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सार्वजनिक गरेका थिए । 

तर, उनले सार्वजनिक गरेका निर्णयका २३ ओटा बुँदामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय भने उल्लेख गरिएको छैन । मन्त्रिपरिषद्ले शनिबार र आइतबार दुईदिने बिदा दिन निर्णय नीतिगत रुपमा गरिएको र  गृहकार्य सकेपछि मात्र सार्वजनिक गर्ने एक मन्त्रीले बताएका छन् ।